काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त समाराेह (दोश्रो चरण)मा १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित हुदैं
धुलिखेल । काठमाडौं विश्वविद्यालयको २८औं दीक्षान्तको दोश्रो चरणमा पीएचडी, एमफिल, स्नातकाेत्तर तथा स्नातक तहका १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित हुने भएका छन् ।
दीक्षान्त समारेहमा काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल(कानुन), म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी ९ जना, एमफिल ४१ जना, स्नातकाेत्तर तहका ९८ जना र स्नातक तहका १ हजार ९२ जना सहित जम्मा १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित हुने भएका छन् ।
दीक्षित हुनेहरूमा आर्ट्सका ३५ जना, एजुकेसनका ५७ जना, इन्जिनियरिङका ३६५ जना, ल (कानून) का १ जना, म्यानेजमेन्टका ५० जना, मेडिकल साइन्सेजका ५६५ जना र साइन्सका १६७ जना विद्यार्थी रहनेछन् ।
दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरूष ४९.३५ प्रतिशत (६ सय १२ जना) र महिला ५०.६५ प्रतिशत (६ सय २८ जना) रहनेछन् । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू ५.८९ प्रतिशत रहेका छन् । वेनिन, भारत, श्रीलंका र संयुक्त राज्य अमेरिका गरि ४ देशका ७३ जना रहेका छन् ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयकाे इतिहासमा पहिलाेपटक स्कुल अफ इन्जिनियरिङ अन्तर्गत व्याचलर अफ आर्किटेक्चरमा २९ जनालाई उपाधि प्रदान गरिनेछ।
जेठ २२ गते साेमबार हुने दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) काे अध्यक्षता,
मुम्बई विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयका पूर्व उपकुलपति र हाल एट्लास स्किल्लटेक युनिभर्सिटी मुम्बईका उपकुलपति प्रोफेसर राजन वेलुकारकाे प्रमुख आतिथ्यता र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति अशाेककुमार राई र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीकाे उपस्थितिमा हुने कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. भाेला थापाले स्वागत भाषण गर्ने कार्यक्रममा जानइएकाे छ ।
समारोहमा सिद्धार्थ रजकलाई स्नातकोत्तर तहमा चान्सलर स्वर्णपदक, सन्चिता के.सी. लाई स्नातक तहमा भाइस चान्सलर स्वर्णपदक, प्रश्ना भट्टराईलाई एमबिए तहमा जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक र आसुष्मा पाेखरेललाई एमबिए तहमा रणबहादुर शाह स्वर्णपदक प्रदान गरिने विश्वविद्यालयले जनाएकाे छ ।
२८ औं दीक्षान्त समाराेहकाे दोश्रो चरणसम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट हालसम्म ४१ हजार २ सय ७५ जना उत्तीर्ण भएका छन् ।