काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त, १ हजार २ सय ४० विद्यार्थी दीक्षित

धुलिखेल । काठमाडौं विश्वविद्यालयको २८औँ दीक्षान्त समारोह (दोश्रो चरण) सम्पन्न भएको छ । दीक्षान्त समारेहमा १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित भएका छन् ।

आइतबार भएकाे दीक्षान्त समारेहमा विश्वविद्यालयका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बाट १ हजार २ सय ४० जना बिद्यार्थीलाई दीक्षीत भएका हुन । उक्त समारेहमा काठमाडौं विश्वविद्यालयबाट स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी ९ जना, एमफिल ४१ जना, स्नातकाेत्तर तहका ९८ जना र स्नातक तहका १ हजार ९२ जना सहित जम्मा १ हजार २ सय ४० जना विद्यार्थी दीक्षित भएका हुन् । यस्तै, कार्यक्रममा काठमाडौं विश्वविद्यालयकाे इतिहासमा पहिलाेपटक स्कुल अफ इन्जिनियरिङ अन्तर्गत व्याचलर अफ आर्किटेक्चरमा २९ जनालाई उपाधि प्रदान गरिएकाे थियाे ।

साथै, दोश्रो चरणको दीक्षान्तमा चान्सलर स्वर्णपदकबाट स्नातकोत्तर तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थी स्कुल अफ एजुकेशनका सिदार्थ रजक, भाइस चान्सलर स्वर्णपदक स्नातक तहमा सबभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थी स्कुल अफ एजुकेसनकै सन्चिता केसी, जुद्धबहादुर श्रेष्ठ स्वर्णपदकबाट एमबिए तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने विद्यार्थी प्रश्ना भट्टराई तथा रणबहादुर शाह स्वर्णपदकबाट एमबिए तहमा सर्वोत्कृष्ट विद्यार्थी आयुष्मा पोखरेललाई प्रधानमन्त्री प्रचण्डले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री प्रचण्डले देशमा बढ्दै गएको आर्थिक संकट समाधानको लागि नीति तथा कार्यक्रम र बजेटमा उत्पादनमा वृद्धि गर्ने तथा रोजगारीलाई पहिलो प्रथमिकता राखेको बताए ।

भारतकाे एटलस स्कील्लटेक युनिभर्सिटीका उपकुलपति प्रा. डा. राजन वेलुकरकाे प्रमुख अतिथ्यतामा भएकाे २८औँ दीक्षान्त समारोहमा शिक्षा बिज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति अशोककुमार राई, शिक्षा बिज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी , उपकुलपति प्रा. डा. भोला थापा लगायतको सहभगिता रहेको थियो ।

दीक्षान्त समारोह अघि विश्वविद्यालय प्राङ्गणमा निर्माण भएको स्कुल अफ ल को नवनिर्मित भवनको उद्घाटन समेत गरिएकाे थियो।

२८ औं दीक्षान्त समाराेह (दोश्रो चरण) सम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट हालसम्म ४१ हजार २ सय ७५ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।