असार १५ राष्ट्रिय धान दिवस, दही चिउरा खाने दिन

काभ्रेपलान्चोक । जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि भन्ने मूल नाराका साथ आज २० औँ राष्ट्रिय धान दिवस मनाईदै छ ।

नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार वि.सं २०६२ असार १५ गतेदेखि कृषि तथा सहकारी मन्त्रालयले असार १५ गते राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो । सधैँ झैँ यो वर्ष पनि धान दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।

धान नेपालको प्रमुख खाद्यान्न बाली र खाद्य सुरक्षाको प्रमुख आधार रहनुका साथै धान आर्थिक, धार्मिक, सामाजिक र सांस्कृतिकलगायतको महत्त्व रहिआएकाे छ ।

नेपालमा धानखेतीका लागि तराई र भित्री मधेस तथा पहाडका फाँटलाई उर्वरभूमि मानिन्छ । पछिल्लो समय उन्नत जातको धानखेतीका लागि सरकारले कृषकलाई प्रोत्साहन गरेको छ भने रैथाने पुराना बीउ प्रवर्द्धनमा पनि जोड दिँदै आएको छ ।

किसानले मानो खाएर मुरी उब्जाउने महिना असारमा खेतमा रोपाइँ गरी दही चिउरा खाने दिनलाई सरकारले राष्ट्रिय धान दिवस भनेर घोषणा गरेको हो।

असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि मनाईन्छ । नेपालीहरुले आज दही चिउरा खाई असार १५ मनाउने प्रचलन रहि आएकाे छ । औपचारिकरूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघिदेखि नै नेपालमा असार १५ गते दहीच्युरा खाने चलन चल्दै आएको थियो ।