एसईई २०७९ काे नतिजा सार्वजनिक
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गरेको छ।
बाेर्डले बिहीबार दिउँसो २०७९ सालको एसईई परीक्षाको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको एसईई परीक्षा २०७९ मा ४ लाख ८५ हजार ३ सय ९६ परीक्षार्थी सहभागी भएका थिए । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ रहेको छ । यो कुल परीक्षार्थीको ४.६३ प्रतिशत हो । यस्तै, कार्यालयका अनुसार ३.२० देखि ३.६० जीपीए ल्याउनेको विद्यार्थी संख्या ५५ हजार ६९ रहेको छ । जुन ११.३६ प्रतिशत हो ।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका साथै बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० को बेवसाइटबाट पनि नतिजा हेर्न सकिनेछ।
बाेर्डले नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिने जनाएकाे छ ।