नमोबुद्ध नगरपालिकाद्वारा लम्पी स्किन पीडित कृषकलाई राहत

भकुण्डे । नमोबुद्ध नगरपालिकाले गाई भैसीमा मछहामारीको रुपमा फैलिएदै गएको लम्पी स्किन रोगबाट पशु क्षति बेहोरेका कृषकलाई राहत उपलव्ध गराएको छ ।

नगरपालिकाले कृषकलाई विपद व्यस्थापन कोषबाट राहत उपलव्ध गराएको हाे । विपद् व्यवस्थापनको लागि राहत वितरण सम्बन्धी मापदण्ड, २०७७ मा भएको व्यवस्था अनुसार राहत व्यवस्था मिलाएको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिएका छन् । ‘विपदमा पशु क्षति व्यहोर्ने कृषकलाई नियमित राहत व्यवस्था गर्दै आएकाे भन्दै नगर प्रमुख लामाले ‘लम्पी स्किनबाट क्षति बेहोर्ने कृषकलाई पनि यही कोषबाट राहत उपलव्ध गराउँने बताए ।

मापदण्डमा घर पालुवा पशुहरु पूर्ण क्षति भएमा भैंसीको हकमा सात हजार, गाई/गोरुको हकमा प्रति गोटा पाँच हजार र भेडा/बाख्राको हकमा प्रति गोटा एक हजार रूपैयाँ राहत उपलब्ध गराईने उल्लेख छ । नगरपालिकाले कीट वा सूक्ष्म जीवाणु आतङ्क, पशु तथा चराचुरुङ्गीमा हुने फ्लू, प्यान्डामिक फ्लू आदिलाई गैर प्राकृतिक विपदको रुपमा परिभाषा गर्दै यस्ता विपदमा पनि राहत उपलव्ध गराउने व्यवस्था गर्दै आएको छ ।

नमोबुद्ध नगरपालिकाको पशु सेवा शाखा प्रमुख चिरञ्जिवी शर्माका अनुसार ५५ वटा गाई लम्पी स्किनका कारण क्षति भएका छन् ।

नगरपालिकाले मरेका पशुको व्यवस्थापनको लागि आवस्यकताको आधारमा स्काभेटर समेत उपलव्ध गराएको छ । साथै, नगरपालिकाले यसअघि सबै वडामा लम्पी स्किन विरुद्ध खोप अभियान सञ्चालन गरिसकेको छ भने औषधी खरिद गरी वितरण गरिरहेको छ ।