सरकार र निजी विद्यालय सञ्चालकबीच सहमति, आन्दोलन फिर्ता
काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले विद्यालय बन्दसहितका घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
शुक्रबार सरकारसँग भएको छलफलमा सञ्चालकहरुले राखेको विद्यालय शिक्षासम्बन्धी विधेयक सम्बन्धि निजी विद्यालय सञ्चालकले उठाएको माग सम्बोधन गर्न सरकार तयार भएसँगै निजी विद्यालयहरुले घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।
निजी शैक्षिक संस्थाका प्याब्सन, एन प्याब्सन र हिसानले विद्यालय शिक्षा विधेयकमा पाँच वर्षभित्र निजी विद्यालय शैक्षिक गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषय लगायतका विषयप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका थिए ।
हाल कम्पनी ऐन अनुसार सञ्चालित विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरी विधेयक ल्याउँदा आफूहरु समस्यामा पर्ने भन्दै निजी शैक्षिक संस्था सञ्चालकहरुले विद्यालय बन्द गर्ने घोषणा गरेका थिए ।