विद्यार्थीको प्रश्न जिल्ला समन्वय समितिलाई
काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाका विद्यार्थीहरूले जिल्ला समन्वय समितिलाई प्रश्न गरेका छन् ।
आइतबार धुलिखेल अस्पतालको अडिटोरियम हलमा भएकाे विद्यार्थीको प्रश्न जिल्ला समन्वय समितिलाई कार्यक्रम मार्फत विद्यार्थीहरूले आफ्ना प्रश्न राखेका हुन् ।
जिल्ला समन्वय समिति काभ्रेपलान्चोककाे आयाेजनामा भएकाे कार्यक्रममा विद्यार्थीहरूले विद्यालय, शिक्षक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, स्थानीय सरकार, अभिभावक लगायतका सराेकार राख्ने पक्षसंग विद्यार्थीका साथै शिक्षा सम्बन्धि जाेडिएका आफ्ना प्रश्न, जिज्ञासा, सुझाव समेत दिएका छन् । कार्यक्रममा उनीहरूले राखेका प्रश्नकाे सम्बन्धित विषयका व्यक्तिहरूले उनीहरूलाई उत्तर दिदैं आवश्यक अन्य बिषयबस्तुमा पनि जानकारी गराएका थिए ।
विद्यार्थीको प्रश्न जिल्ला समन्वय समितिलाई कार्यक्रममा बाेल्दै उनीहरूले पछिल्लाे समयमा विद्यार्थीमाथी शिक्षकहरूबाट भएका घट्ना, राजनीति पार्टीबाट विद्यालयमा हुने समस्या, सामुदायिक विद्यालयमा शिक्षक अभागका साथै सम्बन्धि बिषय शिक्षक नहुनुका कारण विद्यार्थीमा परेकाे असर, सामुदायिक र निजी विद्यालयसंगका विविध प्रश्न, खानेपानीका समस्या, सामुदायिक विद्यालयमा लिइने विविध शुल्क, यातायातका समस्या, उच्च शिक्षाका लागि जिल्ला बाहिर जानुका कारण, विद्यालयमा पुस्तकालय र प्रयाेगसालाका समस्या, प्राविधिक शिक्षाकाे अभाव, जिल्लाभरिका सबै विद्यालयमा एउटै शैक्षिक क्यालेन्डर हुनु पर्ने लगायतका बिषयमा विविध प्रश्न गरेका थिए ।
जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका प्रमुख दिपक कुमार गाैतमकाे अध्यक्षतामा भएकाे कार्यक्रममा करिब १ सय विद्यार्थीहरूले प्रश्न गरेका थिए ।