नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण गर्न अभियान

भकुण्डेवेशी / उच्च रक्तचाप हुनेको पहिचान, परिक्षण, जोखिम न्युनिकरण नियन्त्रण गर्ने उद्धेश्यले नमोबुद्ध नगरपालिकामा अभियान थालिएको छ ।
विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा तीनै तहका सरकारको सहभागितामा नेपालमा नै पहिलो पटक काभ्रेपलान्चोक जिल्लामा शुरु गरिएको ´बागमती काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यासकेड इनिसिएटिभ्स’ कार्यक्रम अन्तर्गत नमोबुद्ध नगरपालिकामा पनि अभियान थालिएको हो ।
काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यासकेड इनिसिएटिभ्स’ कार्यक्रम जिल्लाका १३ वटै पालिकामा लागू गरिएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुपोतमराज सेढाईका अनुसार, पहिचान, निदान, उपचार र नियन्त्रणको लागि अभियान अन्तर्गत काम गरिनेछ । अभियान अन्तर्गत १३ वटै स्थानीय तहका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिमका साथै न्युनतम उपकरण समेत दिइनेछ । स्वास्थ्य कार्यालय काभ्रेका जनस्वास्थ्य निरिक्षक दिपेन्द्रकाजी श्रेष्ठका अनुसार, काभ्रेमा उच्च रक्तचापको सम्भावित जोखिममा रहेका ५० हजार ५० जनामध्ये पहिलो बर्षमा १५ प्रतिशतलाई सेवा प्रदान गरिने लक्ष्य छ ।
यसअघि नमोबुद्ध नगरपालिकाले १८ बर्ष माथिका सम्पूर्ण नगरवासीको स्वास्थ्य परिक्षण निशुल्क गरेको थियो । नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह (सुगर), अल्कालिन, प्रोटिन परिक्षण निशुल्क र एक बर्षसम्म निशुल्क औषधीको व्यवस्था मिलाएको थियो । ४ हजार ६ सय ६१ जनाको परिक्षण गर्दा ५ सय ९७ जनामा उच्च रक्तचाप देखिएको नमोबुद्ध नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख भगिरथ अधिकारीले जानकारी दिए ।
शुक्रवार तालिम शुभारम्भ कार्यक्रममा वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोतमराज सेढाईले उच्च रक्तचाप हुनेको पहिचान गर्न कार्यक्रम गर्ने नमोबुद्ध नगरपालिका काभ्रेपलाञ्चोक जिल्लामा पहिलो स्थानीय तह भएको भन्दै नसर्ने रोगबाट हुने मृत्युको जोखिम कम हुने विश्वास रहेकाे बताएका छन् । यस्तै, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले उच्च रक्तचाप हुनेको पहिचान र जोखिम नियन्त्रणका लागि यो अभियान सफल हुने विश्वास व्यक्त गरे ।