५ वर्षको विकास योजना निर्माण गर्दै नमोबुद्ध नगरपालिका
भकुण्डेवेशी / नमोबुद्ध नगरपालिकाले योजनावद्ध विकास गर्न आवद्यिक नगर विकास योजना निर्माण गर्न थालेको छ ।
आवद्यिक नगर विकास योजना निर्माण अन्तर्गत नगरपालिकाले ५ वर्षको अवधीमा गर्ने विकासको योजना निर्माण थालेको हाे ।
‘जनताको आवस्यकता पहिचान पहिले नै गरेर त्यसकोे आधारमा विकास गर्ने हाम्रो योजना हो भन्दै नगर प्रमुख कुनसाङ लामाले ‘हामीले थालेको पञ्चबर्षीय योजनाले अर्को कार्यकालको लागि आउने जनप्रतिनिधीलाई पनि सहज हुने बताएका छन् ।
आवद्यिक नगर विकास योजनामा नगरको वस्तुस्थिती विश्लेषणसहित हालसम्मको विकासको समिक्षा, दीर्घकालिन सोच तथा लक्ष्य तथा समष्टिगत आर्थिक खाका समावेश गरिनेछ । उद्धेश्य, रणनीति, स्रोतको व्यवस्थापन, सरोकारवालाको भुमिका, स्रोत साधनको बाँडफाँड र परिचालनका आधारहरु समावेश गरिनेछन् । वडागत आयोजना बैंक तयार गरिनुका साथै विषयक्षेत्रगत आयोजनाहरुको लागत अनुमान समेत गरिएको परामर्शदाता बि.के महर्जनले बताए । यसअघि सरोकारवालाहरुको सहभागितामा नगर र वडास्तरमा समेत आवद्यिक नगर विकास योजनाको बारेमा अभिमुखिकरण गरिसकिएको छ ।
आइतबार नगरपालिकमा आयोजित कार्यशाला उद्धघाटन गर्दै नगरप्रमुख लामाले सिमित श्रोत भएकोले माग सम्बोधन गर्नकै लागि योजनावद्ध विकास थालिएको बताए ।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले योजना निर्माण गर्नु नै आधा काम भएको मानिने भन्दै आगामी योजना र बजेट आवद्यिक योजनाका आधारमा निर्माण हुने बताए । प्रशासकीय अधिकृत विनोद रसाइलीले आवद्यिक योजना निर्माण गरेर मात्रै काम गर्नुपर्ने कानूनमा स्पष्ट उल्लेख भएको भन्दै नगरले पहिलो पटक पञ्चबर्षीय योजना निर्माण गर्न लागेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस नमोबुद्धका उपसभापति इन्द्रबहादुर दाहाल, माओवादी केन्द्रका उपाध्यक्ष नवराज अधिकारी, राप्रपाका नवराज सत्याल, एकिकृत समाजवादीका कृष्णबहादुर तामाङसहित वडाअध्यक्षहरु, कार्यपालिका तथा नगर सभा सदस्यहरु, कर्मचारी र अन्य सरोकारवालाहरुको सहभागिता थियो ।