इतिहास तथा संस्कृतिविद् ज्ञानकाजी मानन्धरको निधन

बनेपा । काभ्रेका बरिष्ठ संस्कृतिबिद तथा इतिहासविद् ज्ञानकाजी मानन्धरको निधन भएको छ ।

वि.सं. १९९१ पुस महिनामा बनेपास्थित वांख्योटोलमा पिता मोहनलाल खिं मानन्धर र माता लक्ष्मीमायाका कान्छा छोराका रुपमा जन्मनु भएका ज्ञानकाजी मानन्धरको शनिबार निधन भएको हो।

उनी संस्कृतिका मर्मज्ञ, दीर्घकालीन शिक्षासेवी र साहित्यकार पनि थिए । उनले नेपाली, नेपाल भाषा र अंग्रेजी भाषामा समेत कलम चलाएका थिए ।

आजाद मा.वि. बनेपामा वि.सं. २०१७ सालदेखि शिक्षण गरेका पूर्व शिक्षक, काभ्रे जिल्लामा अङ्ग्रेजी बिषयमा पहिलो स्नातक गर्ने ब्यक्तित्व एवं बनेपामा इतिहासका पिता भनेर चिनिनुहुने मानन्धर काभ्रे बहुमुखी क्याम्पसका एक जना संस्थापक र सञ्चालक समितिका सदस्य समेत हुन् ।

स्व. मानन्धरले बनेपाको इतिहास प्रथमत : लेखेर चर्चामा ल्याएका थिए । त्यस्तै धर्म, संस्कृति, आख्यान, नाटक आदि लेखेर प्रकाशन गरी ठुलो योगदान समेत पुर्‍याएका छन् । साथै, नेपालभाषा एकेडमीको सदस्य भई नेपालभाषाको उत्थानमा महत्वपुर्ण योगदान पुर्‍याएका छन् ।

गतबर्ष २०७९ भाद्र २४ गते उहाँ लगायत ६ जना जेष्ठ सेवानिवृत्त राष्ट्रसेवकलाई सेवानिवृत्त राष्ट्रसेवक संघ नेपाल, काभ्रेपलाञ्चोकले बनेपा नगरपालिका को सभाहलमा “मानार्थ सदस्य ” सहित सम्मान प्रदान गरेको थियो ।

लामो समयदेखि शिक्षा, साहित्य, इतिहास र संस्कृतिको क्षेत्रमा कलम चलाउँदै आएका मानन्धरको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको छ।