आज जनैपूर्णिमा, क्वाँटी खाने दिन
आज जनैपूर्णिमा एवं क्वाँटी खाने दिन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर मनाइँदै छ ।
नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँने पर्व जनैपूर्णिमाका दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख रहेको छ ।
जनैपूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरूले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन रहि आएकाे छ । तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने गर्दछन् । हिन्दूहरूले बायाँ काँधबाट छड्के पारी दायाँ हातमुनी खोकिलासम्म पहिरिने सेतो सुतीको धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै वा यज्ञोपवित भनिन्छ। खासगरी हिन्दूका सोह्र संस्कार मध्ये एक उपनयन वा ब्रतवन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी विधिपूर्वक मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् । जसकारण नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहिआएकाे छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भनिन्छ ।
रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम विभिन्न मठ मन्दिर लगायतका विभिन्न स्थानमा भक्तजनको चहलपहलका साथै मेला लागेको छ ।
यस्तै, काभ्रेको बनेपास्थित गाेसाईस्थानमा पनि मेला लागेको छ । गाेसाईस्थानमा जिल्लाका विभिन्न स्थानबाट बिहानैदेखि भक्तजनको चहलपहलकाे चहलपहल रहेकाे छ ।
आज बाँधिएको डोरो गाइ तिहारका दिन गाइको पुच्छरमा बांधेमा मृत्युपछि बैतरणी पार भइन्छ भन्ने जनविश्वास रहेको छ ।
नेपालको तराई मधेशमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर यो पर्व मनाइने गरिन्छ । जसकारण दिदीबहिनी र दाजुभाइ वीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता रहेकाे छ ।
परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन रहीआएकाे छ । जनैपूर्णिमाका दिन चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ गरि नौ थरि गेडगुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने गरिन्छ।
विभिन्न थरीका गेडागुडी क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो हटाइ ताप सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । विभसनन थरिका गेडागुडीको मिश्रण नै क्वाँटी हो ।