जिल्लाकै पहिलाे नगरपालिकामा पहिलाे पटक शाखागत वार्षिक समीक्षा

बनेपा । बनेपा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सम्पादित कार्यक्रमहरूकाे वार्षिक समीक्षा गाेष्ठी गरेकाे छ ।

बनेपा गरपालिकाले पहिलाे पटक शाखागत वार्षिक समीक्षा गरेकाे छ । बनेपा नगरपालिका काभ्रेपलान्चोक जिल्लाकाे सबैभन्दा पुरानाे नगरपालिका पनि हाे । २०३८ सालमा स्थापना भएकाे बनेपा नगरपालिकाले आज पहिलाे पटक शाखागत रूपमा वार्षिक समीक्षा गरेकाे हाे ।

बिहिवार भएकाे वार्षिक समीक्षा गाेष्ठीमा सम्बन्धित शाखा प्रमुखहरूले आफ्नाे प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

गाेष्ठीमा नगर प्रमुख शान्तिरत्न शाक्यले नगरकाे सुधारका लागि नितिगत रूपमा गर्नुपर्ने सबै खालका काम गर्ने बताउँदै आफू त्यसमा प्रतिबद्ध गरेकाे बताएका छन् । यस्तै, उपप्रमुख बिमला सापकाेटा दाहालले नगरपालिकाकाे समग्र विकासका लागि गरिने सबै कार्यमा आफ्नाे साथ सहयाेग रहने बताउँदै सुधारका धेरै काम गर्न आवश्यक रहेकाे बताईन् ।

कार्यक्रममा बाेल्दै प्रमुख प्रशासकीय अधिकृत भाेला प्रसाद चापागाईंले आज प्रस्तुत गरिएकाे शाखागत वार्षिक समीक्षाकाे एकीकृत प्रगति प्रतिवेदन सहित आगामी मंगलबार सार्वजनिक सुनुवाई गरि त्यसै दिन वार्षिक एकिकृत प्रगति प्रतिवेदन प्रस्तुत गरिने बताए ।

बनेपा नगरवालिकाले आर्थिक वर्ष २०७९/८० मा ५२ प्रतिशत मात्रै खर्च भएकाे समेत जनाएकाे छ ।