आज नेपालले हङ्गकङ्गको सामना गर्दै

मुलपानी । काठमाण्डौं मुलपानी क्रिकेट खेल मैदानमा जारी त्रिकोणात्मक टीट्वान्टी श्रृंखलामा आज नेपालले हङ्गकङ्गको सामना गर्नेछ ।

हिजो युएई विरुद्धको खेलमा ७ विकेटको फराकिलो जित दर्ता गर्दै सुखद् सुरुवात गरेको नेपालले आज दोस्रो खेलमा हङ्गकङ्गको सामना गर्नेछ ।

करिब ३ वर्षपछि नेपालले हङ्गकङ्गसँग खेल्दैछ । पछिल्लो पटक नेपाल र हङकङ २०२० मार्चमा एसीसी टी–२० इस्टर्न रिजनमा खेलेका थिए । जसमा हङकङ ४३ रनले विजयी भएको थियो । उक्त खेल खेलेका कुशल मल्ल, करण केसी, दीपेन्द्र सिंह ऐरी, अभिनाश बोहरालगायत खेलाडी अहिले नेपाली टिममा छन् ।

सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपबाट नेपाल र हङकङले टी–२०आईमा डेब्यु गरेका थिए । उक्त खेलमा नेपालले हङकङलाई ८० रनले पराजित गर्दै सानदार डेब्यु गरेको थियो । त्यसमा खेलमा डेब्यु गरेका सोमपाल कामी मात्र हाल नेपाली टिममा छन् । त्यसपछि भएका चार खेलमध्ये नेपालले एक मात्र खेल जित्दा हङकङले तीन खेल जितेको छ ।

प्रतियोगितामा तीनै देशले अन्य देशहरुसँग २–२ खेल खेल्नेछ र तालिकाको शीर्षस्थानको दुई राष्ट्रले कार्तिक १० गते फाइनल खेल्नेछ । आज हुने हङ्गकङ्ग विरुद्धको खेल बिहान ११ः०० बजे सुरु हुनेछ ।