भष्मे डनको आक्रमक ओपनिङ, प्रि–बुकिङ्गमा नै हाउसफुल

काठमाडौं । आगामी कार्तिक ४ गते फुलपातीको दिन लक्षित गरी रिलिज हुन लागिरहेको “पशुपतिप्रसाद–२ भष्मे डन” को प्रि–बुकिङ्गको पहिलो शो हाउसफुल भएको छ ।
“भष्मे डन”ले आक्रामक ओपनिङ गर्दै क्युएफएक्सको भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल र छायाँ सेन्टरको पहिलो दिनको पहिलो शोको सबै टिकट बिक्रि भइसकेको छ । त्यस्तै अन्य शो को पनि करिब ६० प्रतिशत टिकट बिक्रि भइसकेको छ ।
अनलाईन बुकिङ्ग तथा खरीद गर्न सकिने व्यवस्थामा उक्त चलचित्रको प्रि–बुकिङ्गमा चावहिलस्थित एफक्युबको पहिलो ४ शोको टिकट ७० प्रतिशत बिक्रि भइसकेको छ । यस्तै, बनेपाको शुभकामना सिनेमा हलको पहिलो शोको समेत हाउसफुल भइसकेको छ ।
रामबाबु गुरुङको ‘जारी’पछि त्यही अनुपातमा फिल्मले दर्शकलाई हलसम्म तान्न सकेका छैनन् । चलचित्र विकास बोर्डका अनुसार पछिल्लो ६ महिनामा रिलिज भएका ३१ फिल्ममध्ये दुई फिल्महरु जारी र नांगो गाउँले मात्र लगानी उठाउन सकेका छन् ।
यसैबीच, यो फिल्म नेपालमा शनिबार रिलिज हुँदा मध्यपूर्वका मुलुकमा भने पाँच दिनपछि मात्र प्रदर्शनमा आउनेछ । वितरक रमेश ढकालले त्यहाँका युएई, कतार, ओमान, बहराइनसहितका ६ मुलुकमा फिल्म रिलिज हुन लागेको बताए ।
बिपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का अभिनित फिल्मको लेखन तथा निर्माण खगेन्द्र लामिछानेले गरेका हुन् ।