कुशल र ऐरीको शानदार ब्याटिङ्ग, नेपाल फाइनलमा प्रवेश
मुलपानी । काठमाण्डौंको मुलपानीमा जारी त्रिकोणात्मक टीट्वाण्टी शृंखला अन्तर्गत आज हङ्गकङ्ग-चीनलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै नेपाल फाइनलमा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ्ग रोजेको नेपालले कुशल मल्ल र दीपेन्द्र सिं ऐरीको शानदार प्रदर्शनमा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २१३ रन बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले ४१ बलमा ९ छक्का र ३ चौकाको मद्दतले ९२ रन र दीपेन्द्र सिं ऐरीले ३४ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ५७ रन बनाएका थिए । यस्तै आशिफ सेखले १३ बलमा ४ चौका सहित २० रन बनाएका थिए । हङ्गकङ्ग-चीनका लागि हारून अर्साद र मोहम्मद घजान्फारले समान २-२ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ्गमा उत्रिएका हङ्गकङ्ग-चीनले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा मात्र १३४ रन बनाउन सकेको थियो । जसका लागि अन्सी रथले ४५ रन, ऐजाज खानले २५ रन र बाबर हयाटले २० रन बनाएका थिए । नेपालका लागि करण के.सी., सोमपाल कामी र ललित राजवंशीले समान २-२ विकेट लिएका थिए ।
जारी प्रतियोगितामा ३ खेलमा तीनैवटामा जित्दै नेपाल तालिकामा ६ अंकसहित फाइनलमा प्रवेश गरेको छ । भोलि हङ्गकङ्ग-चीनले युएईको सामना गर्नेछ ।