विश्वकपमा अफगानिस्तानको ऐतिहासिक जित, पाकिस्तान ८ विकेटले पराजित
भारत । भारतमा जारी आइसीसी एकदिवसीय क्रिकेट विश्वकपमा आज अफगानिस्तानले पाकिस्तानमाथि ऐतिहासिक जित हात पारेको छ ।
तेस्रो पटक विश्वकपमा सहभागी भएको अफगानिस्तानले पहिलो विश्वकपमा कुनै पनि खेल जित्न सकेको थिएन भने दोस्रो विश्वकपमा एक खेल स्कटल्याण्ड विरुद्ध जितेको थियो । चालु विश्वकपमा अफगानिस्तानले पहिलो इङ्गल्याण्डलाई पराजित गरेको थियो भने आज भएको खेलमा पाकिस्तानलाई ८ विकेटले पराजित गर्दा ५ खेल मध्ये २ खेलमा जित हात पार्दै इतिहास रच्न सफल भएको छ ।
टस जितेर ब्याटिङ्ग गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २८२ रन बनाएको थियो । जसका लागि कप्तान बाबर आजमले ७४ रन, अब्दुल्लाह साफिकले ५८ तथा सादब खान र इस्फिखार एहमेदले समान ४०–४० रनको योगदान दिएका थिए । अफगानिस्तानका लागि नुर एहमदले ३ र नविन उल हकले २ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ्गमा अफगानिस्तानले ४९ ओभरमा २ विकेटको क्षतिमा विजयलक्ष्य हासिल गरेका थिए । जसका लागि इब्राहिम जड्रानले ८७ रन, रहमत शाहले अविजित ७७ रन, रहमुनुल्लाह गुर्बाजले ६५ रन र कप्तान हस्मतुल्लाह शाहिदीले अविजित ४८ रनको योगदान दिएका थिए ।
यो सँगै अफगानिस्तान ५ खेलमा २ खेल जित्दै ४ अंक सहित छैटौं स्थानमा पुगेको छ । भोलि विश्वकप अन्तर्गत बंगलादेशले दक्षिण अफ्रिकाको सामना गर्नेछ ।