त्रिकोणात्मक सिरिजको उपाधि युएईलाई, नेपाल ४ विकेटले पराजित
काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा आज भएको फाइनल खेलमा युएईद्वारा नेपाल ४ विकेटले पराजित भएको छ ।
चालु शृंखलामा समूह चरणको ४ खेल मध्ये ४ वटैमा जित हात पारी फाइनल पुगेको नेपाललाई आज युएईले ४ विकेटले पराजित गरेको हो । समूह चरण अन्तर्गतको अन्तिम खेलमा हङ्गकङ्गसँग पराजित भएर पनि नेट रनरेटको आधारमा फाइनलमा स्थान बनाएको युएईले आज जितेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग आमन्त्रण पाएको नेपालले सुरूवाती क्रमबाट नै फितलो प्रदर्शन गरेको थियो । नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । जसका लागि कुशल भुर्तेलले ५० रन, दीपेन्द्र सिं ऐरीले २० र करण के.सी.ले अविजित २३ रन बनाएका थिए । युएईका लागि आयान अफ्जल खानले ३ तथा अलि नासुर र जाहुर खानले २-२ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ्गमा युएईले १ बल अगावै विजयलक्ष्य हासिल गरेका हुन् । युएईका लागि कप्तान मुहम्मद वसिमले ४५ रन, भृतया अर्विन्दले २६ र आर्यांश शर्माले २५ रन बनाएका थिए । बसिल हामिदले १६ बलमा अविजित २२ रन बनाउँदै युएईलाई जिताएका थिए ।
नेपालका लागि गुल्सन झा र अभिनास बोहराले २-२ विकेट लिएका थिए भने कुशल मल्लले १ विकेट लिएका थिए ।