पकिस्तानमाथि एक विकेटको कीर्तिमानी जितसँगै दक्षिणअफ्रिका शीर्षस्थानमा

चेन्नाई । भारतमा जारी एकदिवसीय विश्वकप क्रीकेटमा आज भएको खेलमा पाकिस्तान माथि दक्षिणअफ्रीकाले एक विकेटको जितसंगै कीर्तिमान कायम गरेको छ ।

एकदिवसीय क्रीकेट इतिहासमा नै पाकिस्तान विरूद्ध २७१ रनको विजयलक्ष्य पूरा गर्ने दक्षिणअफ्रिका पहिलो राष्ट्र बनेको छ । जितसँगै चालु विश्वकपको अंक तालिकामा ६ खेल मध्ये ५ मा जित्दै १० अंक सहित दक्षिणअफ्रिका शीर्षस्थानमा पुगेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले ४६ ओभर ४ बलमा २७० रन बनाउँदा सबै विकेट गुमाएको थियो । पाकिस्तानको लागि साउद साकिलले ५२ र कप्तान बाबर आजमले ५० रन बनाएका थिए भने सादब खानले ४२ र मुहम्मद रिजवानले ३१ रन बनाएका थिए । दक्षिण अफ्रिकाको लागि ताब्रेज साम्सीले ४ तथा मार्को यान्सेनले ३ विकेट लिएका थिए ।

दक्षिण अफ्रीकाको लागि एडेन माक्रमले ९३ बलमा ९१ रन बनाएका थिए भने उनको विकेट गुमाउँदा दक्षिण अफ्रिकाले २५० रनमा सातौं विकेट गुमाएको थियो । २६० रनमा ९ विकेट गुमाएको दक्षिण अफ्रिकालाई केशब महाराज (अविजित ७ रन) र तार्बेज साम्सी (अविजित ४ रन) ले जित दिलाएको हो ।

पाकिस्तानको लागि साहिन साह अफ्रीदीले ३ तथा हरिस राउफ, मोहम्मद वसिम र उसामा मिरले समान २-२ विकेट लिएका थिए ।

जारी विश्वकपमा यो पाकिस्तानको लगातार चौंथो हार हो भने अब बाँकी ३ खेलमा पकिस्तानलाई जित्नै पर्ने दबाब बढेको छ ।

विश्वकप अन्तर्गत भोलि दुई खेल हुनेछ । पहिलो खेलमा अष्ट्रेलियाले न्यूजिल्याण्डको सामना गर्नेछ भने दोस्रोमा बंगलादेशले नेदरल्याण्डको सामना गर्नेछ ।