टीट्वाण्टी क्रीकेट विश्वकप छनौटका लागि रोहितको कप्तानीमा नेपाली क्रीकेट टोलीको घोषणा

काठमाण्डौं । आगामी कार्तिक १३ गतेदेखि सञ्चालन हुने टीट्वाण्टी क्रीकेट विश्वकपको अन्तिम चरणको एशियाली छनौट प्रतियोगिताको लागि रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली क्रीकेट टोलीको घोषणा गरेको छ ।

नेपाल क्रीकेट संघ (क्यान) ले आज घोषणा गरेको अन्तिम १५ को टोलीमा सन्दिप लामिछाने परेका छन् भने विनोद भण्डारी समेत टोलीमा पर्न सफल भएका छन् ।

अन्य खेलाडीहरूमा कुशल भुर्तेल, आशिफ सेख, कुशल मल्ल, दीपेन्द्र सिं ऐरी, सन्दिप जोरा, गुल्सन झा, सोमपाल कामी, करण के.सी., अभिनास बोहरा, प्रतीस जि.सी., विवेक यादव र ललित राजवंशी रहेका छन् ।

प्रतियोगिताका खेलहरू त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रीकेट मैदान र मुलपानी क्रीकेट मैदानमा खेलिनेछन् ।

समुह ‘ए’ अन्तर्गत नेपालले पहिलो खेलमा कार्तिक १३ गते बिहान ९:०० बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा सिङ्गापुरको सामना गर्नेछ ।

यस्तै, कार्तिक १४ गते दिउँसो १:३० बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा नै मलेशियाको सामना गर्नेछ भने कार्तिक १६ गते बिहान ९:०० बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा नै ओमनको सामना गर्नेछ । अर्को समूह ‘बी’ मा बहराइन, हङ्गकङ्ग, कुवेत र युएई रहेका छन् ।

दुबै समुहको उत्कृष्ट दुई टोलीहरूले सेमिफाइनल खेल खेल्नेछ भने फाइनल पुग्ने दुई टोली टीट्वाण्टी क्रीकेट विश्वकपमा छनौट हुनेछ ।