विश्वकपमा नेदरल्याण्डको दोस्रो जित, बंगलादेश ८७ रनले पराजित

एडेन गार्डेन । भारतमा जारी एकदिवसीय क्रीकेट विश्वकपमा आज बंगलादेशलाई ८७ रनले पराजित गर्दै नेदरल्याण्डले विश्वकपमा दोस्रो जित दर्ता गरेको छ ।

टस जितेर ब्याटिङ्ग गरेको नेदरल्याण्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२९ रन बनाएको थियो । नेदरल्यान्डका लागि कप्तान स्कर्ट्स एड्वार्ड्सले ६८ रनको पारी खेलेका थिए भने वेस्ली बेरेस्सीले ४१ र साइब्राण्ड एङ्गल्ब्रेचले ३५ रन बनाएका थिए ।

बंगलादेशको लागि सोरिफुल इस्लाम, तस्किन एहमद, मुस्ताफिजुर रहमान र मेहदी हसनले समान २-२ विकेट लिएका थिए ।

जवाफी ब्याटिङ्गमा आएको बंगलादेशले ४२ ओभर २ बलमा मात्र १४२ रन बनाउँदा सबै विकेट गुमाएको थियो । बंगलादेशको लागि मेहदी हसन मिराजले ३५ रन, मेहमुदुल्लाह र मुस्ताफिजुर रहमानले २०-२० रन बनाएका थिए ।

नेदरल्याण्डको जितका लागि पल भ्यान मिक्रनले ७ ओभर २ बलमा २३ रन खर्चेर ४ विकेट लिएका थिए भने बस दी लिडले २ विकेट लिएका थिए ।

चालु विश्वकपमा नेदरल्याण्डले यो भन्दा अघि दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

भोलि भारतले इङ्गल्याण्डको सामना गर्नेछ ।