भारतको अपराजित यात्रा यथावत, इङ्गल्याण्ड एक सय रनले पराजित

लखनऊ । भारतमा जारी एकदिवसीय क्रीकेट विश्वकप अन्तर्गत आज इन्ङ्गल्याण्डलाई १ सय रनले हराउँदै भारतले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग आमन्त्रण पाएको भारतले शुभमन गिल (९ रन), विराट कोहली (शून्य रन) र श्रेयस ऐयर (४ रन) लाई ४० रनमा नै गुमाएको थियो । तत्पश्चात के.एल.राहुल र कप्तान रोहित शर्माको ९१ रनको साझेदारीमा १३१ रन बनाउँदा राहुल ३९ रनमा आउट भए ।

रोहित शर्माले ८७ रन, सूर्य कुमार यादवले ४९ रन र जसप्रीत बुम्राहले अविजित १६ रन बनाएका थिए । इङ्गल्याण्डका लागि डेबिड विल्लीले ३ विकेट तथा क्रीस ओक्स र आदिल रसिदले समान २-२ विकेट लिएका थिए ।

जवाफी ब्याटिङ्गमा इङ्गल्याण्डले ३४ ओभर ५ बलमा सबै विकेट गुमाएर मात्र १ सय २९ रन बनाउन सकेको थियो । जसका लागि लियाम लिभिङ्गस्टोनले २७ रन बनाएका थिए भने अन्य टप तथा मिडर अर्डरका कुनै पनि ब्याट्सम्यानले २० रन बनाउन सकेनन् ।

भारतको जितका लागि मोहम्मद सामीले ४ विकेट, जस्प्रीत बुम्राहले ३ र कुलदीप यादवले २ विकेट लिएका थिए । जितसँगै ६ खेलमा सबैमा जित हात पार्दै १२ अंक सहित भारत अंक तालिकाको शीर्षस्थानमा पुगेको छ ।

इङ्गल्याण्डले ६ खेलमा १ मा जितेको छ भने ३ खेल खेल्न बाँकी छ । बाँकी तीनै खेलमा इङ्गल्याण्डले जिते पनि सेमिफाइनल पुग्ने सम्भावना कम छ ।

भोलि विश्वकप अन्तर्गत श्रीलंकाले अफगानिस्तानको सामना गर्नेछ ।