विश्वकपमा अफगानिस्तानको तेस्रो जित, श्रीलंका ७ विकेटले पराजित

श्रीलंकाका खेलाडी दिमुथ करुणारत्नेलाई आउट गरेपछि अफगानिस्तानका खेलाडीहरु उत्सव मनाउँदै । तस्विरः एएफपी/गेट्टी इमेजेज

पुणे । भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा आज भएको खेलमा श्रीलंकालाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै अफगानिस्तानले तेस्रो जित हात पारेको छ ।

पुणेको मैदानमा टस हारेको श्रीलंकाले ४९ ओभर ३ बलमा सबै विकेट गुमाएर २४१ रन बनाएको थियो । श्रीलंकाको लागि पाथुम निशांकाले ४६, कप्तान कुशल मेन्डिसले ३९ र सादिरा समाराविक्रमाले ३६ रन बनाएका थिए । अफगानिस्तानका लागि फजल्लाह फारुकीले १० ओभरमा १ मेडियन सहित ३४ रन खर्चेर ४ विकेट लिएका थिए । यस्तै, मुजिब उर रहमानले २ विकेट तथा अजमतुल्लाह ओमरजाई र रसिद खानले १–१ विकेट लिएका थिए ।

जवाफी ब्याटिङ्गमा अफगानिस्तानलाई जित दिलाउन अजमतुल्लाह ओमरजाईले अविजित ७३ रन, रहमत शाहले ६२ र कप्तान हस्मतुल्लाह शाहिदीले अविजित ५८ रनको योगदान दिएका थिए । श्रीलंकाको लागि दिल्सान मधुशांकाले २ विकेट लिएका थिए । अफगानिस्तानका कप्तान हस्मतुल्लाह शाहिदीले ७० खेलमा २ हजार रन पु¥याएका छन् भने रसिद खानको यो १०० औं एकदिवसीय खेल हो ।

जितसँगै अफगानिस्तान अंक तालिकाको ६ अंक सहित ५ औं स्थानमा पुगेको छ भने श्रीलंका ४ अंक सहित छैटौं स्थानमा रहेको छ । आगामी खेलमा श्रीलंकाले अविजित यात्रारत भारतको सामना गर्नेछ भने अफगानिस्तानले नेदरल्याण्डको सामना गर्नेछ ।

भोलि विश्वकप अन्तर्गत बंगलादेशले पाकिस्तानको सामना गर्नेछ । भोलिको खेल पाकिस्तानले जित निकालेमा सेमिफाइनलमा स्थान बनाउने सम्भावना अझै रहनेछ भने बंगलादेश पराजित भएमा विश्वकपबाट बाहिरिने पहिलो टोली बन्नेछ ।