काभ्रे बहुमुखी क्याम्पसद्वारा अपाङ्गता भएका व्यक्तिहरू लक्षित कार्यक्रमको सुरू
बनेपा । काभ्रे बहुमुखी क्याम्पस, बनेपाको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग, सानोठिमीको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी आज मंगलबार “युनिभर्सिटी कम्युनिटी लिङ्केज कार्यक्रम”को उद्घाटन बागमती प्रदेशका प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादेबाट गरिएको छ ।
“काभ्रे जिल्लामा अपाङ्गता भएका व्यक्तिहरुलाई सशक्तिकण गर्न हस्तकला उत्पादन व्यवस्थापन” विषय अन्तर्गत हुन गइरहेको उक्त कार्यक्रमको अवधिभरमा अपाङ्गता भएका व्यक्तिहरुलाई हस्तकला उत्पादन र सो को बजार व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिने छ ।
काभ्रे जिल्लाभित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई पहिलो चरणमा आज मंगलबारदेखि कागज र कपडाको हस्तकला उत्पादन तालिम सञ्चालन गरिने क्याम्पसका उपप्राध्यापक एवं कार्यक्रम प्रमुख कृष्णप्यारी नकर्मीले जानकारी दिनुभयो । विभिन्न चरणमा सञ्चालन हुने उक्त कार्यक्रमको दोस्रो चरणमा पराल र बाँसको हस्तकला उत्पादन तालिम, तेस्रो चरणमा हस्तकला उत्पादनको रेकर्ड राख्ने र व्यवस्थापन गर्ने सम्बन्धी तालिम र चौंथो चरणमा उत्पादनको प्रवर्द्धन तथा बिक्री वितरण सम्बन्धी तालिम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व उद्योगराज्यमन्त्री एवं बागमती प्रदेश, प्रदेश सभा सदस्य वादेले जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरुका लागि यो कार्यक्रम उत्कृष्ट रहेको बताउनुहुँदै यसको दीगोपनाको लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ६ का कार्यवाहक वडाध्यक्ष लालकृष्ण तिमल्सिनाले आफ्नै वडामा रहेको क्याम्पसले नै समुदायमा रहेका अपाङ्गता भएका व्यक्तिका लागि यस किसिमको कार्यक्रम गर्न लागेकोमा गर्व गर्नुहुँदै आवश्यक सहयोग गर्न समेत प्रतिबद्ध रहेको बताउनुभयो । काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष कैलाश पलाञ्चोकेले हस्तकला उत्पादन र व्यवस्थापनपछि बजार प्रवर्द्धनको कुरा आउने र जसका लागि काभ्रे उद्योग वाणिज्य संघसँग सहकार्य गरी अघि बढ्न सहयोग गर्ने बताउनुभयो ।
यस्तै, नेपाल अपाङ्ग महिला संघकी महासचिव एवं जिल्ला अपाङ्गता संघ, संस्था समन्वय समितिकी सचिव पम्फा पुर्काेटीले अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालन गर्न लागिएको यो कार्यक्रमले उनीहरुको आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले यस्ता किसिमको कार्यक्रमहरु एकपटक मात्र सञ्चालन नभई दीगो रूपमा सञ्चालन हुनुपर्ने बताउनुभयो ।
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा काभ्रे बहुमुखी क्याम्पसले प्रत्येक वर्ष विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउनुहुँदै क्याम्पस प्रमुख के.जी. वैदारले यो पटकदेखि क्याम्पसबाट समुदायमा पनि केही योगदानका कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक र सामाजिक स्तरोन्नतिको लागि यस किसिमको कार्यक्रम सञ्चालन गर्न लागिएको र आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवं सुस्त मनस्थिति कल्याण संस्थाका केन्द्रीय अध्यक्ष लम्बोदर कायस्थले क्याम्पसले सुरू गरेको यस कदम स्वागतयोग्य रहेको बताउनु भयो । साथै, उहाँले समुदायका लागि बिभिन्न किसिमका कार्यक्रमहरूलाई आगामी दिनमा पनि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य एवं सहायक क्याम्पस प्रमुख अर्चना हाडाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला अपाङ्गता संघ संस्था समन्वय समितिका कोषाध्यक्ष एवं काभ्रे बहिरा विकास संस्थाका महासचिव धिरोज अधिकारी, क्याम्पस सञ्चालक समितिका सदस्य कृपेन्द्र श्रेष्ठ र इश्वरीप्रसाद ओझा, क्याम्पसका प्राध्यापकहरु, कर्मचारीहरु, विद्यार्थीहरु तथा तालिमका सहभागीहरुको उपस्थिति रहेको थियो ।