एकसय ६६ रनको लक्ष्य पूरा गरेमा नेपाल सेमिफाइनल पुग्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी टी–ट्वान्टी विश्वकप क्रिकेट छनौट खेलमा मलेशिया विरुद्ध १ सय ६६ बनाई जित निकालेमा नेपाल सेमिफाइनल पुग्नेछ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको मलेशियाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको छ । मलेशियाको लागि साइद अजिजले ४९ बलमा ८ चौका र २ छक्का सहित ६८ रनको योगदान दिएका थिए भने जुबेइद जुल्किफले १६ बलमा ३ चौका सहित २४ रन बनाएका थिए । यस्तै सार्विन मुनेइदीले १३ रन र विजय उन्नीले अविजित १३ रन बनाएका थिए भने अन्य खेलाडीले दोहोरो अंककाे रन बनाउन सकेको थिएन ।

नेपालको लागि अभिनास बोहराले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिएका थिए भने सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले समान १–१ विकेट लिएका थिए ।

यस खेलमा मलेशिया विरुद्ध नेपालले जित निकालेमा ओमनसँगै नेपाल पनि सेमिफाइनल पुग्नेछ । अर्काे समुहको विजेता/उपविजेता विरुद्ध जित निकाली फाइनलमा पुगेमा मात्र पनि नेपाल टी–ट्वान्टी विश्वकपमा छनौट हुनेछ ।