मलेशियालाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको टी–ट्वान्टी विश्वकप क्रिकेट छनौट खेलमा मलेशियालाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

१ सय ६६ रनको विजयलक्ष्य लिएर मैदान प्रवेश गरेको नेपालले १८ ओभरमा पूरा गरेको छ । नेपालका लागि कुशल मल्लले ३५ बलमा २ चौका र ७ छक्काको मद्दतमा ६५ रन बनाएका थिए भने कुशल भुर्तेलले २५ बलमा ४ चौका र ४ छक्काको मद्दतले ४३ रन बनाएका थिए । आशिफ सेखले २३ बलमा ३२ रन बनाउँदा मुहम्मद अमिरले क्याचआउट गरेका हुन् । मलेशियाका लागि मुहम्मद अमिरले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको मलेशियाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । मलेशियाको लागि साइद अजिजले ४९ बलमा ६८ रन, जुबेइद जुल्किफले १६ बलमा २४ रन बनाएका थिए । नेपालको लागि अभिनास बोहराले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिएका थिए भने सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले समान १–१ विकेट लिएका थिए ।

जितसँगै समुह ‘ए’ बाट नेपाल र ओमन सेमिफाइनल पुगेको छ भने यी दुवै टोलीले समुह चरणको अन्तिम खेलमा समुह विजेता बन्नका लागि कार्तिक १६ गते बिहान ९ः०० बजे एकआपससँग भिड्नेछन् ।