कुशादेवीमा मिनिट्रक दुर्घटना, दुई जनाको मृत्यु
कुशादेवी । पनौती नगरपालिका वडा नं २ कुशादेवीमा आज भएको मिनिट्रक दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो २ः१० बजे कुशादेवीबाट नयाँगाउँतर्फ जाँदै गरेको बा.४ ख. ६७२३ मिनिट्रक पनौती–२ छिनाभन्ज्याङमा ब्रेक फेल भई सडकबाट ६०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परेर निशान चालक पनौती–२ कुशादेवी बस्ने बर्ष ४० को रविन आचार्य र बेथानचोक २ बस्ने बर्ष ५० को शिवबिक्रम केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
पराल लोड भएको निसान मिनिट्रक दुर्घटना हुँदा बेथानचोक २ बस्ने बर्ष ४५ की सारदा तिमल्सिना गम्भीर घाइते भएकी छन् । घाइते तिमल्सिनाको टाउको, घाँटी, दुवै हात खुट्टामा चोट लागेको र उनको उपचार जारी रहेको छ ।