दुई खेल अगावै विश्वकपबाट बाहिरियो बंगलादेश, पाकिस्तान ७ विकेटले विजयी

भारत । पाकिस्तानसँग ७ विकेटले पराजित भएपछि बंगलादेश क्रिकेट विश्वकपबाट बाहिरिने पहिलो राष्ट्र बनेको छ ।

आज इडेन गार्डेनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको बंगलादेश ४५ ओभर १ बलमा २०४ रनमा अलआउट भएको थियो । बंगलादेशको लागि महमुदुल्लाहले ५६, लिटन दासले ४५, कप्तान साकिब अल हसले ४३ र हसन मिराजले २५ रन बनाएका थिए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेन ।

पाकिस्तानको लागि साहिन साह अफ्रीदी र मोहम्मद वसिमले समान २-२ विकेट लिएका थिए भने हरिस राउफले २ विकेट लिए ।

जवाफी ब्याटिङ्गमा पाकिस्तानले ३२ ओभर ३ बलमा विजयलक्ष्य पूरा गरेको थियो । जसका लागि फकार जमानले ८१, अबदुल्लाह साफिकले ६८ र मोहम्मद रिजवानले अविजित २६ रन बनाएका थिए । बंगलादेशका लागि हसन मिराजले ९ ओभरमा ६० रन खर्चेर ३ विकेट लिएका थिए ।

जितसँगै पाकिस्तान ७ खेलमा ६ अंक सहित पाँचौ स्थानमा पुगेको छ । ७ खेलमा १ खेल मात्र जितेको बंगलादेश बाँकी २ खेल अगावै विश्वकपबाट बाहिरिएको छ । अंक तालिकाको शीर्ष ४ राष्ट्रले मात्र सेमिफाइनल खेल्नेछ ।

भोलि विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रीकाले न्यूजिल्याण्डको समना गर्नेछ ।