विश्वकपमा न्यूजिल्याण्डको लगातार तेस्रो हार, दक्षिणअफ्रिका १ सय ९० रनले विजयी
भारत । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा दक्षिणअफ्रिकाले न्यूजिल्याण्डलाई १९० रनले पराजित गरेको छ ।
जारी विश्वकपमा न्यूजिल्याण्डको यो लगातार तेस्रो हार हो । जितसँगै दक्षिणअफ्रिका पुनः अंक तालिकाको शीर्षस्थानमा पुगेको छ । दक्षिणअफ्रिका ७ मध्ये ६ खेलमा जित हात पार्दै १२ अंक सहित शीर्षस्थानमा पुगेको हो । समान अंक भएको भारतले ६ खेलमा सबै जितेको छ भने नेट रनरेटको आधारमा दक्षिणअफ्रिका शीर्षमा पुगेको हो ।
टस हारेर ब्याटिङ्ग आमन्त्रण पाएको दक्षिण अफ्रिकाले क्विन्टन डी ककको ११४ रन, रस्सी भ्यान डर डुस्सेनको १३३ रन र डेभिड मिलरको ३० बलमा ५३ रन सहित निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३५७ रन बनाएको थियो ।
क्विन्टन डी ककको जारी विश्वकपमा यो चौंथो शतक हो भने ७ खेलमा ५४५ रन बनाई सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी शीर्षस्थानमा रहेका छन् ।
न्यूजिल्याण्डका लागि टीम साउथीले २ तथा ट्रेन्ट बोल्ट र जेम्स निसमले समान १–१ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ्गमा मैदान उत्रिएको न्यूजिल्याण्डलाई ३५ ओभर ३ बलमा १६७ रनमा रोक्न दक्षिण अफ्रिका सफल भएको थियो । दक्षिण अफ्रिकालाई जित दिलाउन केशव महाराजले ९ ओभरमा ४६ रन खर्चेर ४ विकेट लिएका थिए भने मार्काे यानसेनले ८ ओभरमा १ मेडियन सहित ३१ रन खर्चेर ३ विकेट लिएका थिए ।
न्यूजिल्याण्डका लागि ग्लेन फिलिप्सले ६० रन बनाएका थिए । यस्तै, विल योङ्गले ३३ रन र ड्येरिल मिचेलले २४ रन बनाएका थिए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेका थिएनन् ।
भोलि विश्वकप अन्तर्गत भारतले श्रीलंकाको सामना गर्नेछ ।