ओमन बन्यो समुह विजेता, नेपालले सेमिफाइनलमा युएईसँग भिड्ने
काठमाण्डौं । नेपाललाई ५ रनले पराजित गर्दै ओमन समुह ‘ए’ को विजेता बनेको छ ।
टस हारेर ब्याटिङ्ग आमन्त्रण पाएको ओमनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । ओमनको लागि कप्तान जिसन मकसुदले ३२ रन र नसिम खुसीले २५ तथा प्रतिक अथवलेले २४ रन बनाएका थिए भने नेपालका लागि करण के.सी.ले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले २-२ विकेट लिएका थिए ।
जवाफी ब्याटिङ्गमा नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो । नेपालका लागि कुशल भुर्तेलेले २६ रन र विवेक यादवले ३९ रन बनाएका थिए भने अन्य कुनै ब्याट्सम्यानले २० रन बनाउन सकेनन् ।
ओमनलाई जित दिलाउन साकिल एहमद, मेहरान खान र अकिब ल्यासले समान २-२ विकेट लिएका छन् ।
अब सेमिफाइनलमा ओमनले समुह ‘बी’को उपविजेता (तय हुन बाँकी) र नेपालले समुह ‘बी’ को विजेता युएईसँग फाइनलका लागि भिड्नेछ्न् । फाइनल पुग्ने दुई राष्ट्र टी-ट्वान्टी विश्वकप क्रीकेटका लागि छनौट हुनेछन् ।