श्रीलंकाको ३ सय २ रनले लज्जास्पद हार, भारत सेमिफाइनलमा प्रवेश

भारत । आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा आज भारतसँग श्रींलकाले ३ सय २ रनले लज्जास्पद हार व्यहोरेको छ ।

३ सय ५८ रनको विजयलक्ष्य लिएर मैदान उत्रिएको श्रीलंका १९ ओभर ४ बलमा सबै विकेट गुमाएर मात्र ५५ रन बनाउन सकेको थियो । यो जारी विश्वकपको सबैभन्दा कम रन हो । यसअघि नेदरल्याण्ड अष्ट्रेलियासँगको खेलमा ९० रनमा अलआउट भएका थिए ।

हालसम्मको विश्वकपमा कुनै पनि टेष्ट मान्यता प्राप्त राष्ट्रले बनाएको यो सबैभन्दा कम रन टोटल हो । यो भन्दा अघि सन् २०११ मा बंगलादेश वेष्ट इण्डिजसँगको खेलमा ५८ रनमा अलआउट भएको थियो ।

श्रीलंकाको ५ जना ब्याट्सम्यान शून्य रनमै पेभेलियन फर्किएका थिए । श्रीलंकाको लागि महिष थिक्सानाले १२ रन र एन्जेलो म्याथ्युजले १२ रन बनाएका थिए ।

भारतका लागि मोजम्मद सामीले ५ ओभरमा १ मेडियन सहित १८ रन खर्चेर ५ विकेट लिएका थिए भने मोहम्मद सिराजले ७ ओभरमा २ मेडियन सहित १६ रन खर्चेर ३ विकेट लिएका थिए ।

यसअघि भारतले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५७ रन बनाएको थियो । भारतको लागि शुभमन गिलले ९२ रन, विराट कोहलीले ८८ र र श्रेयस ऐयरले ८२ रनको पारी खेलेका थिए ।

श्रींलकाको लागि दिल्सान मधुशांका एक्लैले १० ओभरमा ८९ रन खर्चेर ५ विकेट लिएका थिए ।

जितसँगै भारतले दुई खेल खेल्न अगावै सेमिफाइनलमा स्थान बनाएको छ । अर्को खेलमा भारतले अंकतालिकाको दोस्रो स्थानमा रहेको दक्षिणअफ्रिकाको सामना गर्नेछ ।

विश्वकप अन्तर्गत भोलि अफगानिस्तानले नेदरल्याण्डको सामना गर्नेछ ।