दश वर्षपछि नेपालले टी-ट्वाण्टी क्रिकेट विश्वकप खेल्ने
मुलपानी । टी-ट्वाण्टी क्रीकेट विश्वकप छनौट अन्तर्गत आज भएको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा स्थान बनाएको छ ।
दश वर्षपछी पुन: नेपाल विश्वकपमा खेल्ने भएको हो । यसअघि सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा नेपाल सहभागी भएको थियो ।
आज १ सय ३५ रनको चुनौतीको सामना गर्न मैदान उत्रिएको नेपालले १७ ओभर १ बलमा पूरा गरेको थियो । नेपालको लागि आशिफ सेखले ५० बलमा अविजित ६३ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले २१ बलमा अविजित ३५ रन बनाए । युएईका लागि बसिल हमिद र निलंकश केशवानीले १-१ विकेट लिए ।
यसअघि ब्याटिङ्ग गरेको युएईले २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो । युएईका लागि भृत्य अरविन्दले ६४ रनको पारी खेलेका थिए ।
नेपालको लागि कुशल मल्लले ३ विकेट, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले १-१ विकेट लिएका थिए ।
अब नेपालले फाइनलमा ओमनसँग उपाधिको लागि भिड्नेछ । विश्वकपमा ओमन र नेपाल छनौट भएको छ ।