म्याक्सवेलको चमत्कारी ब्याटिङ्गमा अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश

भारत । आइसीसी एकदीवसीय क्रीकेट विश्वकप अन्तर्गत आज ग्लेन म्याक्सवेलको चमत्कारी ब्याटिङ्गले अष्ट्रेलिया सेमिफाइनल प्रवेश गरेको छ ।

एकल प्रदर्शनमा ग्लेन म्याक्सवेलले १२८ बलमा अविजित २०१ बनाई विश्व कीर्तिमान समेत आफ्नो नाममा लेखाउन सफल भएका छन् । अफ्गानिस्तानले दिएको २९२ रनको विजयलक्ष्य लिएर मैदान उत्रिएको अष्ट्रेलियाले ९१ रनमा ७ विकेट गुमाइसकेको थियो । कप्तान प्याट कमिन्ससँगको आठौं विकेटको लागि गरिएको २०२ रनको साझेदारीमा म्याक्सवेल एक्लैले १७९ रन र कमिन्सले १२ रन बनाई अष्ट्रेलियालाई विश्वकपको सेमिफाइनलमा पुर्‍याएको छ ।

३५ वर्षीय म्याक्सवेलले आफ्नो स्वास्थ्य अवस्था कमजोर रहँदा रहँदै पनि क्रीजमा अडिग भएर चमत्कारी ब्याटिङ्ग मार्फत जित दिलाउन सफल भएका हुन् । उनले आफ्नो करियरकै सबैभन्दा उत्कृष्ट रन बनाउँदा आठौं विकेटको लागि गरिएको साझेदारीमा समेत कीर्तिमान कायम गरेका छन् ।

यसअघि टस जिते ब्यातिङ्ग गरेको अफगानिस्तानले ५० ओभरमा ५ विकेटको क्षतिमा २९१ रन बनाएको थियो । अफ्गानिस्तानका इब्राहिम जड्रानले अफ्गानिस्तानको तर्फबाट पहिलो विश्वकप शतकको कीर्तिमानको साथै अफ्गानिस्तानको विश्वकपमा सबैभन्दा धेरै रनको कीर्तिमान समेत बनाएका थिए ।

अफ्गानिस्तानले अष्ट्रेलियाको ७ विकेट ९१ रनमा लिएपनि ग्लेन म्याक्सवेलले अफ्गानिस्तानको हातबाट जित खोसेका छन् ।
जितसँगै अष्ट्रेलिया १२ अंक सहित सेमिफाइनल प्रवेश गरेको छ भने पकिस्तान, अफ्गानिस्तान र न्यूजिल्याण्डको ८-८ अंक रहेको छ ।

भारत र दक्षिणअफ्रिका पहिले नै सेमिफाइनल पुगिसकेका छन् भने अब बाँकी १ स्थानको लागि पाकिस्तान, अफ्गानिस्तान र न्यूजिल्याण्ड मध्ये एक राष्ट्रले स्थान बनाउने छ ।

डिफेन्डिङ च्याम्पियन इङ्गल्याण्ड, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड यसअघि नै विश्वकपबाट बाहिरी सकेका छन् ।