नगरकोटमा भाेलिबाट सडक महोत्सव हुदैं

नगरकाेट । पर्यटकीय नगरी नगरकोटमा नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी नगरकोट सडक महोत्सव २०८० हुने भएको छ ।

काभ्रेपलान्चोक र भक्तपुरको सिमानामा पर्ने नगरकाेटमा भाेलि बिहिवारबाट नगरकोट सडक महोत्सव २०८० हुन लागेकाे हाे ।

प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने नाराका साथ हुन लागेकाे उक्त महोत्सव नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी नगरकोट सडक महोत्सव गर्न लागिएको नगरकोट नाल्दुम पर्यटन विकास समितिका प्रबक्ता राेहित माेक्तानले बताए । महोत्सव कार्तिक २३ गतेदेखि २५ गतेसम्म तीन दिन सञ्चालन हुने प्रबक्ता माेक्तानले बताए ।

नगरकोटको महामञ्जुश्री चोकमा हुने महोत्सवमा स्थानीय कला र प्रतिभाकाे प्रस्तुति हुनुका साथै विभिन्न प्रत्यक्ष साङ्गीतिक एंव लोक दोहोरी कार्यक्रम, स्थानीय खानाका परिकारहरू, कृषि मेला, चङ्गा चेट, मुहार चित्रकारितालगायतका सामग्रीहरू प्रदर्शनमा रहने जनाइएकाे छ ।

करिब एक लाखकाे सहभागीता रहने लक्ष्य रहेकाे साे महोत्सवले नगरकोटको पर्यटन प्रवर्द्धन र दिगो पर्यटनको विकासका लागि नगरकोटलाई पर्यटनको हब बनाउन सडक महोत्सव आयोजना गर्न लागिएकाे आयाेजकले बताएकाे छ ।