नेदरल्याण्डलाई पराजित गर्दै इङ्गल्याण्डले खोल्यो च्याम्पियन्स ट्रफीको बाटो

पुणे । भारतमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा नेदरल्याण्डलाई १ सय ६० रनले पराजित गर्दै इङ्गल्याण्डले च्याम्पियन्स ट्रफीको बाटो खोलेको छ ।

जारी विश्वकपको १० राष्ट्र मध्ये समुह चरणको खेल सकिँदा उत्कृष्ट आठ राष्ट्रले च्याम्पियन्स ट्रफी प्रतियोगिता खेल्न पाउनेछन् । डिफेन्डिङ्ग च्याम्पियन इङ्गल्याण्ड लगातार ५ वटा खेलमा पराजित भएर विश्वकपबाट त बाहिरी सकेको छ भने च्याम्पियन्स ट्रफीको लागि उत्कृष्ट आठमा प्रतियोगिता सकाउनु पर्ने हुन्छ । खेल जितेसँगै इङ्गल्याण्डले ८ खेलमा ४ अंक बटुलेको छ । श्रीलंका, बंगलादेश र नेदरल्याण्डको पनि ४ नै अंक रहेको छ । नेट रनरेटको आधारमा इङ्गल्याण्ड ७औं, बंगलादेश ८औं, श्रीलंका ९औं र नेदरल्याण्ड १०औं स्थानमा रहेको छ भने सबै राष्ट्रले अझै १–१ खेल खेल्न बाँकी छ ।

आज टस जितेर ब्याटिङ्ग रोजेको इङ्गल्याण्डले बेन स्टोकको पहिलो विश्वकप शतकका साथ ९ विकेटको क्षतिमा ३ सय ३९ रन बनाएको थियो । स्टोकले ८४ बलमा ६ छक्का र ६ चौकाको मद्दतले १ सय ८ रन बनाएका थिए । यस्तै, डेभिड मलानले ८७ र क्रिस वोक्सले ५१ रन बनाएका थिए । नेदरल्याण्डका वस डी लिडले ३ विकेट लिएका थिए ।

इङ्गल्याण्डलाई जित दिलाउन मोइन अली र अदिल रसिदले समान ३–३ विकेट लिएका थिए । नेदरल्याण्ड मात्र ३७ ओभर २ बलमा १ सय ७९ रनमा समेटिएको थियो ।

विश्वकप क्रिकेट अन्तर्गत भोलिबाट समुहचरणको अन्तिम राउण्ड शुरु हुनेछ । भोलि न्यूजिल्याण्डले श्रीलंकाको सामना गर्नेछ । सेमिफाइनलमा स्थान बनाउन न्यूजिल्याण्डलाई जित्नै पर्ने अवस्था छ भने च्याम्पियन्स ट्रफीमा सहभागी जनाउन श्रीलंकालाई जित्नै पर्ने दबाब रहेको छ ।