नमोबुद्धकाे एकिकृत घुम्ती सेवा, वडास्तरमा नै योजना सम्झौता

भकुण्डेवेशी । नमोबुद्ध नगरपालिकाले एकीकृत घुम्ती सेवा संचालन गर्ने भएको छ ।

नागरिकलाई घरदैलोमा नै सेवा उपलव्ध गराउन नगरपालिकाले एकीकृत घुम्ती सेवा संचालन गर्दै वडास्तरमा नै योजना सम्झौता गर्ने भएको हाे ।

नगरपालिका केन्द्रबाट भौगोलिक रुपमा टाढा रहेका टोलबस्तीमा उपभोक्ता समिति गठन तथा अभिमुखीकरण, राजश्व संकलन, स्वास्थ्य, कृषि तथा पशु सेवा, अपांगता लगायतका लक्षित वर्ग सम्बन्धमा नगरपालिकाबाट प्रदान गरिने सेवासहित सबै वडामा मंसिर मसान्तसम्म एकिकृत घुम्ती सेवा सञ्चालन गर्ने नगर प्रमुख कुनसाङ लामाले बताएका छन् ।

आर्थिक वर्ष २०८०।८१ को लागि दोश्रो नगर सभाको तेश्रो अधिवेशनबाट स्वीकृत भएको वार्षिक विकास योजना कार्यान्वयन गर्ने सन्दर्भमा वडास्तरमा नै योजना सम्झौता गर्ने तयारी रहेकाे नगरपालिकाले जनाएकाे छ । यस्तै, नगरपालिकाले सुशासन र पारदर्शितामा जोड दिँदै आगामी मंसिर ७ गते सार्वजनिक सुनुवाइ गर्ने निर्णय समेत गरेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७९।८० मा र चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा सम्पादन गरिएका कामहरुकाबारे सार्वजनिक सुनुवाइ गर्न लागेकाे हाे ।