काभ्रेको बनेपाबाट चोरीको सामान सहित दुई जना पक्राउ
बनेपा । काभ्रेकाे बनेपामा रहेकाे जेनुन कस्मेटिक्स एण्ड फेन्सी पसलबाट कपडाहरू चोरी गर्ने पक्राउ परेका छन् ।
प्रहरीले गत जेठ १८ गतेका दिन काभ्रेपलानञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्बर ७ स्थित सकुन्तला श्रेष्ठले संचालन गर्दै आएको जेनुन कस्मेटिक्स एण्ड फेन्सी पसलबाट पसलमा रहेको कपडाहरू हेरी झुक्यानमा पारी पसलमा रहेको कुर्ता सुरूवाल, टप्स लगायतका कपडाहरू चोरी गर्ने दुई जनालाई पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलानञ्चोकका अनुसार पक्राउ पर्नेमा दोलखा जिल्ला साबिक भिमेश्वर नगरपालिका वडा नम्बर १२ हाल भिमेश्वर नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ६३ की दुर्गा बि.क. र निजकै बुहारी वर्ष ३५ की बिनिता बि.क. रहेका छन् । प्रहरीका अनुसार काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको छ । साथै, प्रहरीले कुर्ता सुरुवाल १६ सेट र सिंगल टप्स ६ थान समेत बरामद गरेकाे बताएकाे छ ।
प्रहरीले गत मंगलबार उनीहरूलाई बनेपा नगरपालिका वडा नम्बर ९ बाट पक्राउ गरेकाे जनाएकाे छ ।