विश्वकपबाट बाहिरिए पनि पहिलो पटक च्याम्पियन्स ट्रफी खेल्दै अफगानिस्तान

अहमदावाद । भारतमा जारी विश्वकपबाट अफगानिस्तान बाहिरिए पनि च्याम्पियन्स ट्रफीको लागि छनौट भएको छ ।

विश्वकपको अंकतालिकाको उत्कृष्ट ८ राष्ट्र च्याम्पियन्स ट्रफीको लागि छनौट हुने भएकोले अफगानिस्तान ८ अंक सहित छैठौं स्थानमा रहेको छ । अफगानिस्तानले ९ खेलमा ४ मा जितेको छ भने ५ मा हार व्यहोरेको छ ।

आज दक्षिणअफ्रीकासँग ५ विकेटले पराजित भएको अफगानिस्तानले टस जितेर ब्याटिङ्ग रोजेको थियो । अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर २४४ रन बनाउन सक्यो । अफगानिस्तानका अजमत्तुल्लाह ओमरजाइले अविजित ९७ रनको पारी खेल्दा पहिलो शतक बनाउनबाट उनी चुकेका थिए । दक्षिण अफ्रिकाको लागि जेराल्ड कोट्जीले ४४ रन खर्चेर ४ विकेट लिएका थिए ।

दक्षिण अफ्रिकाले ४७ ओभर ३ बलमा विजयलक्ष्य हासिल गरेको छ । रस्सी भ्यान डर डुसनको अविजित ७६, क्विन्टन डी ककको ४१ र एन्डिल फेल्क्वाओको अविजित ३९ रनको मद्दतले दक्षिणअफ्रिकाले जित दर्ता गरेको हो । अफगानिस्तानको लागि मोहम्मद नाबी र रसिद खानले समान २-२ विकेट लिए ।

भोलि अष्ट्रेलियाले बंगलादेशको सामना गर्नेछ भने इङ्गल्याण्डले पाकिस्तानको सामना गर्नेछ । पाकिस्तानले सेमिफाइनल स्थान बनाउन इङ्गल्याण्डलाई कम्तिमा २७५ रनले जित्नु पर्ने हुन्छ ।