बनेपामै प्रथम नेपालभाषा साहित्य सम्मेलन र साइकल र्‍याली हुँदै

बनेपा । बनेपामा प्रथम नेपालभाषा साहित्य सम्मेलन तथा साँस्कृतिक प्रस्तुति र साइकल र्‍याली हुने भएको छ ।

‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने नारासहित बनेपामा पहिलो पटक ‘न्हापांगु नेपालभाषा साहित्य तःमुंज्या व सांस्कृतिक ब्वज्या’ हुने भएको हो ।

आयोजक प्रथम नेपालभाषा साहित्य तःमुंज्या मानव जातिको सभ्यता, संस्कृति, भाषा, साहित्य र राजनीतिक विषयमा छलफल गर्ने साझा दबु हो । सबै जातजातिको संस्कृति, भाषा र साहित्यको उत्थान गर्ने र शोषित–पीडित कामदार वर्गका जनताको आमूल परिवर्तनको आवाज उठाउने सबै नेपालीको दबु तःमुंज्या हो ।

साहित्य सम्मेलन र साँस्कृतिक प्रस्तुति यही नेपाल सम्वत् ११४४ कछलाथ्व सकिमना पुन्हिं यानकी २०८० मंसिर ११ गते बिहान ११ बजेदेखि बनेपाको लायकुमा हुने आयोजकले जनाएको छ । साहित्य सम्मेलनमा आफ्नो प्रस्तुति दर्ता गर्नका लागि साहित्य दुई हजार शब्द भन्दा कम र १० मिनेटमा प्रस्तुत गरिसक्नुपर्ने आयोजकले बताएको छ भने साहित्य प्रस्तुतिका लागि २०८० मंसिर ६ गतेभित्र नाम दर्ता गरिसक्नुपर्नेछ ।

साहित्य सम्मेलन तथा साँस्कृतिक प्रस्तुतिमा सहभागी हुन बनेपाको न्यू प्रगति पुस्तक भण्डार, अष्ट मंगल गहना पसल, साँगाको साँगा हार्डवेयर, नालाको अरनिको स्टोर, धुलिखेलको अड्डा बजार होमस्टे, पनौतीको सूर्याेदय माध्यमिक बोर्डिङ स्कुल, पनौती प्रेस र पाँचखालको इन्जिनियरिङ्ग वर्कशपमा गई नाम दर्ता गर्ने सुविधा दिइएको प्रथम नेपालभाषा साहित्य तःमुंज्याका नायो सत्यनारायण श्रेष्ठले बताए ।

साथै, सम्मेलन अन्तर्गत मंसिर २ गते शनिबार हामी साइकले, काभ्रेको सहयोगमा साइकल र्‍यालीको समेत आयोजना गरिएको छ । बिहान ७ः३० बजे बनेपाको लायकुबाट शुरु हुने साइकल र्‍यालीमा सहभागी हुन यही कार्तिक ३० गतेभित्र नाम दर्ता गर्नुपर्ने बताइएको छ ।

साइकल र्‍याली बनेपाको लायकुबाट शुरु भई नाला करुणामय–नाला गुम्बा हुँदै साँगा–बनेपा–खड्पु–पनौती–खड्पु–धुलिखेल अस्पताल हुँदै धुलिखेल पिकनिक स्पटमा समापन हुने बताइएको छ ।