नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले नेपालमा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालको एक प्लेटफर्म टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम भइरहेकोले टिकटकलाई नेपालमा प्रतिबन्ध लगाउने निर्णय गरिएको हो ।

निर्णय तत्काल कार्यान्वयनमा जाने बताइएको छ भने सो का लागि हाललाई कुनै डेडलाइन भने तोकिएको छैन । निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ने उनले बताइन् ।

नेपाल सरकारले केही समयअघि टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग छलफल गरी टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन सरकारले आग्रह गरेको थियो ।

टिकटक दुरुपयोग गरेर हालिने यस्ता सामग्रीलाई हटाएर शान्ति सुव्यवस्था र समाजिक सद्भाव कायम राख्न सहयोग गर्न गृह मन्त्रालयले आग्रह गरेको थियो । दोषीउपर कानुन बमोजिम कारवाही गर्न नेपाल प्रहरीको साइवर व्युरो लगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयबीच सहकार्य बढाउने सहमति समेत भएको थियो ।

छलफलबाट टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन सहज हुने गृह मन्त्रालयले जनाएको थियो ।