कोहलीले तोडे तेण्डुल्करको विश्व कीर्तिमान, न्यूजिल्याण्डलाई ३ सय ९८ रनको चुनौती
मुम्बई । भारतमा जारी एकदीवसीय क्रीकेट विश्वकपमा आज भइरहेको पहिलो सेमिफाइनलमा भारतका विराट कोहलीले सचिन तेण्डुलकरको विश्व कीर्तिमान तोडेका छन् ।
एकदिवसीय क्रीकेटमा ५० औं शतक प्रहार गर्दै कोहली साविक कीर्तिमानी तेण्डुलकरको ४९ शतकको कीर्तिमान तोडेका हुन् । कीर्तिमानको तेस्रो स्थानमा भारतकै रोहित शर्मा ३१ शतक सहित रहेका छन् भने ३० शतक बनाएर अष्ट्रेलियाका रिकि पोन्टिङ्ग चौंथो स्थानमा छन् ।
हाल भइरहेको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ्ग गर्दै निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ९७ रन बनाएको छ । भारतको लागि विराट कोहलीले १ सय १७, श्रेयस ऐयरले १ सय ५ र कप्तान रोहित शर्माले ४७ रन बनाएका छन् । शुभमन गिल व्यक्तिगत ७९ रन बनाउँदा रिटायर्ड हर्ट (घाइते) भएका थिए भने पछि पुन: ब्याटिङ्गमा फर्कि अविजित ८० रन बनाएका हुन् ।
न्यूजिल्याण्डका लागि टिम साउथीले १० ओभरमा १०० रन खर्चेर ३ विकेट लिएका छन् भने ट्रेण्ट बोल्टले १० ओभरमा ८६ रन खर्चेर १ विकेट लिएका छन् । खेल अहिले जारी छ, न्यूजिल्याण्डले जितका लागि निर्धारित ५० ओभरमा ३ सय ९८ रन बनाउनु पर्नेछ ।