न्यूजिल्याण्डलाई ७० रनले पराजित गर्दै भारत चौंथो पटक फाइनलमा प्रवेश
मुम्बई । भारतमा जारी एकदीवसीय क्रीकेट विश्वकपमा आज न्यूजिल्याण्डलाई ७० रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ ।
चौंथो पटक फाइनलमा पुगेको भारतले यसअघि दुई पटक सन् १९८३ र सन् २०११ मा विश्वकप जितेको थियो । यता न्यूजिल्याण्ड भने ९ औं पटक सेमिफाइनलमा पराजित भएको छ । अघिल्लो दुई संस्करणमा दोस्रो भएको न्यूजिल्याण्डले हालसम्म विश्वकप भने जित्न सकेको छैन ।
सन् २०२४ को संस्करणमा आज भारतले टस जितेर पहिले ब्याटिङ्ग गर्दै निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३९७ रन बनाएको थियो । भारतको लागि विराट कोहली ५० औं शतकको कीर्तिमान कायम गर्दै १ सय १७ रन, श्रेयस ऐयरले १ सय ५ रन र कप्तान रोहित शर्माले ४७ रन बनाएका थिए । शुभमन गिल व्यक्तिगत ७९ रन बनाउँदा रिटायर्ड हर्ट (घाइते) भएका थिए भने पछि पुन: ब्याटिङ्गमा फर्कि अविजित ८० रनमा खेल सकिएको थियो ।
न्यूजिल्याण्डका लागि टिम साउथीले ३ विकेट लिएका थिए भने ट्रेण्ट बोल्टले १ विकेट लिएका थिए ।
न्यूजिल्याण्डले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर मात्र ३२७ रन बनाउन सकेको थियो । न्यूजिल्याण्डका लागि ड्यारिल मिचेलले १ सय ३४ रन र कप्तान केन विलियमसनले ६९ रन बनाएका थिए । यस्तै ग्लेन फिलिप्सले ४१ रन बनाए भने अन्य ब्याट्सम्यानले रन जोड्न सकेनन् ।
भारतलाई जित दिलाउन मोहम्मद सामीले ९ ओभर ५ बलमा ५७ रन खर्चेर ७ विकेट लिएका थिए । कुलदीप यादव, मोहम्मद सिराज र जसप्रीत बुम्राहले १-१ विकेट लिए ।
भोलि दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले पाँच पटकको विश्वकप विजेता अष्ट्रेलियाको सामना गर्नेछ । दक्षिण अफ्रीका हालसम्म फाइनल पुग्न सकेको छैन ।