के भारतले अष्ट्रेलियाविरुद्ध सन् २००३ को फाइनलको बदला लिन सक्लान् त ?

सन् २०२३ यानकी हाल भारतमा आयोजित १३ औं संस्करणको विश्वकपमा फेरि एकपटक ५ पटकको विश्वविजेता अष्टे«लिया र २ पटकको विश्वविजेता भारत आमनेसामने हुने भएको छ ।

सन् २००३ मा अष्ट्रेलियाले तेस्रो पटक विश्वकपको उपाधि चुमेका बखत दक्षिणअफ्रिकाको जोहानेसवर्गमा भएको उक्त फाइनलमा भारतलाई १२५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । उक्त खेलमा टस हारेर ब्याटिङ आमन्त्रण पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा मात्र २ विकेटको क्षतिमा ३५९ रन बनाएको थियो । अष्ट्रेलियाका कप्तान रिकि पोन्टिङ्गले १२१ बलमा अविजित १४० र डेरिम मार्टिनले ८४ बलमा अविजित ८८ रन बनाएको थियो ।

जवाफी ब्याटिङ्गमा मैदान उत्रिएको भारतले ३९ ओभर २ बलमा सबै विकेट गुमाएर मात्र २३४ रन बनाउन सक्यो । भारतका लागि विरेन्द्र सेहवाग ८१ बलमा ८२ रन बनाउँदा रनआउट भएका थिए । राहुल द्रविडले ४७ रन बनाएका थिए भने सचिन तेन्डुलकर मात्र ४ रनमा पेभेलियन फर्किएका थिए । सोही विश्वकपको समुहचरणमा भेट हुँदा समेत भारत ९ विकेटले पराजित भएको थियो ।

यस विश्वकपमा हालसम्म समुह चरणको ९ र सेमिफाइनलको १ खेल मध्ये कुनै पनि खेलमा पराजय नभई फाइनल आइपुगेको छ, भारत । उता अष्ट्रेलिया भने ९ मध्ये ७ खेलमा जित निकाल्दै सेमिफाइनलमा दक्षिणअफ्रिकालाई मुश्किलले पराजित गर्दै फाइनल आइपुगेको छ ।

भारतको क्रिकेट टोलीः

रोहित शर्माको कप्तानीमा विश्वकपमा होमिएको भारतलाई विराट कोहलीको राम्रो साथ रहेको छ । स्वास्थ्य अवस्थाको कारण मैदान बाहिर रहेको सुभमन गिल र के.एल.राहुल समेत विश्वकपको लागि फर्किएका थिए । भारतले मोहम्मद सामीलाई अन्तिम १५ मा स्थान दिएका थिए । भारतले मोहम्मद सिराज र जसप्रित बुमराहले अन्तिम ११ मा राख्दा अलराउण्डरका रुपमा हार्दिक पाण्डेलाई स्थान दिएको थियो ।

बंगलादेशसँगको खेलमा हार्दिक पाण्डे घाइते भएपछि न्युजिल्याण्डबिरुद्धको खेलमा स्थान बनाएका मोहम्मद सामीले पहिलो खेलमै १० ओभरमा ५४ रन खर्चेर ५ विकेट लिएका थिए । त्यसपछि लगातार खेल्न पाएका सामीले इङ्गल्याण्ड बिरुद्ध २२ रन खर्चेर ४, श्रीलंका विरुद्ध १८ रन खर्चेर ५ र दक्षिण अफ्रिका बिरुद्ध १८ रन खर्चेर २ विकेट लिए । सेमिफाइनलमा पुनः न्यूजिल्याण्ड बिरुद्ध म्याच चेन्जर बनेका सामीले ५७ रन खर्चेर ७ विकेट लिएका थिए । चालु विश्वकपमा हालसम्म ६ खेलमा २३ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडीमा आफ्नो नाम लेखाएका छन् । यता ब्याटिङतर्फ विराट कोहलीले १० खेलमा ७११ रन बनाएर सर्वाधिक रन बनाउने ब्याट्सम्यानमा आफ्नो नाम लेखाएका छन् ।

कप्तान रोहित शर्माले १० खेलमा ५५० रन बनाइसकेका छन् भने लगायतार दुई खेलमा दुई शतक बनाएका श्रेयस ऐयरले १० खेलमा ५२६ रन बनाइसकेका छन् ।

अष्ट्रेलियाको क्रिकेट टोलीः

प्याट कमिन्सको कप्तानीमा विश्वकपमा सहभागी भएको अष्ट्रेलियाले चालु विश्वकपको पहिलो खेलमा भारतसँग पराजय भोगेको थियो । १९९ रनमा सबै विकेट गुमाएर २०० रनको लक्ष्य दिँदा भारतले पहिलो २ रनमा ३ विकेट गुमाइसकेको थियो । तत्पश्चात विराट कोहली र केएल राहुलको शतकीय साझेदारीले भारतले खेल आफ्नो पक्षमा पारेको थियो ।

दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १३४ रनले पराजित भएको अष्ट्रेलियाले समुह चरणको आठौं खेलमा ग्लेन म्याक्सवेलको विश्व किर्तिमानी ब्याटिङले अफगानिस्तान बिरुद्ध जित दिलाई सेमिफाइनल प्रवेश गरेको थियो ।

अष्ट्रेलियाको ब्याटिङतर्फ डेभिड वार्नर (१० खेलमा ५२८ रन), मिचेल मार्स (९ खेलमा ४२६ रन) र ग्लेन म्याक्सवेल (८ खेलमा ३९८) रन बनाएर उत्कृष्ट फर्ममा रहेका छन् । यता बलिङतर्फ एडम जाम्पाले १० खेलमा २२ रन लिएर भारतका मोहम्मद सामीभन्दा १ विकेटले पछाडी छन् ।

दाबेदार दुई राष्ट्रः

ब्याटिङ र बलिङ दुवै क्षेत्रमा सफल देखिएको भारत यसपालीको विश्वकप दाबेदारका रुपमा देखिएका छन् भने पहिलो दुई खेलमा पराजित भएपनि फाइनलमा स्थान बनाएको अष्ट्रेलिया पनि उत्तिकै दाबेदार देखिएका छन् । चालु विश्वकपभर स्पिन बलको आक्रमणमा फितलो प्रदर्शन गरेको अष्ट्रेलियालाई भारतका स्पिनरद्वय रविन्द्र जडेजा र कुलदीप यादवले दबाबमा राख्न सक्नेछन् । पछिल्लो सेमिफाइनलसम्ममा प्रदर्शन सुधार्दै उत्कृष्ट लयमा फर्किएको अष्ट्रेलिया भारतमाथि भारी पर्न सक्नेछ ।

हेड टु हेडः

हालसम्म १५० पटक आमनेसामने भएका यी दुई राष्ट्र बीचको एकदिवसीय क्रिकेटमा ८३ खेलमा अष्ट्रेलियाले जित हात पारेको छ भने ५७ पटक भारतले जितेको छ । बाँकी १० खेल विना रिजल्ट टुङ्गिएको छ ।

अघिल्लो ५ पटकको आँकडा हेर्ने हो भने २ पटक अष्ट्रेलियाले जितेको छ भने ३ पटक भारतले जितेको छ । अघिल्लो पटकको भेटमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो । उक्त खेल भारतको चेन्नाईमा भएको थियो ।

क्रिकेट स्टेडियमः

चालु एकदिवसीय क्रिकेट विश्वकप २०२३ को फाइनल खेल भारतको नरेन्द्र मोदी स्टेडियम, अहमदाबादमा हुनेछ । १ लाख ३२ हजारको क्षमता भएको उक्त क्रिकेट स्टेडियममा एकदिवसीय क्रिकेट विश्वकपको यो दशौं खेल हो ।

उक्त मैदानमा विश्वकप अन्तर्गत भारतले यसअघि ३ खेल मध्ये तीनै खेलमा जित हात पारेको छ भने अष्ट्रेलियाले खेलेको ३ खेलमा २ मा जित हासिल गरेको छ । अष्ट्रेलिया पराजित भएको १ खेल भारतसँग नै थियो, सन् २०११ मा । उक्त विश्वकपमा भारत र अष्ट्रेलिया आमनेसामने भएको यस मैदानमा भारतले अष्ट्रेलियालाई ५ विकेटले पराजित गरेको थियो ।

के सन् २००३ को भारतको बदला पूरा हुन्छ त ?

सन् २००३ मा विश्वकप फाइनलमा अष्ट्रेलियासँग पराजित भारतलाई बदला लिई तेस्रो पटक उपाधि चुम्ने अवसर मिलेको छ । यता अष्ट्रेलिया छैठौं पटक उपाधि जित्न प्रयत्नरत रहनेछ ।

क्रिकेटको दुनियाँमा तोड्न नसकिने विश्व कीर्तिमान बनाउने ग्लेन म्याक्सवेल, उत्कृष्ट कप्तानीको भूमिकामा देखिएका प्याट कमिन्स र उत्कृष्ट लयमा देखिएका ब्याटरद्वय मिचेल मार्स र डेभिड वार्नरको अष्ट्रेलियालाई विराट कोहली, श्रेयस ऐयर, केएल राहुलको उत्कृष्ट ब्याटिङ प्रदर्शनसँगै मोहम्मद सामी, रविन्द्र जडेजा र कुलदीप यादवको उत्कृष्ट बलिङमा भारतले रोक्न सक्लान् त्यो भने हेर्न बाँकी नै छ ।