भारतलाई पराजित गर्दै अष्ट्रेलियाले उचाल्यो छैटौं पटक एकदिवसीय विश्वकप क्रीकेटको उपाधि

अहमदाबाद । भारतमा जारी एकदिवसीय विश्वकप क्रीकेटको उपाधि अष्ट्रेलियाले आयोजक भारतलाई ६ विकेटले पराजित गर्दै उचालेको छ ।

२ सय ४१ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको अष्ट्रेलियालाई जित दिलाउन ट्राभिस हेडले १ सय ३७ रन र मार्नस लेबुस्चेनले अविजित ५८ रन बनाएका थिए । ४७ रनमा तेस्रो विकेट गुमाएको अष्ट्रेलियालाई जित दिलाउन हेड र लेबुस्चेनले १ सय ९२ रनको साझेदारी पारी खेलेका थिए ।

यसअघि टस हारेर पहिले ब्याफिङ्ग गरेको भारतले केएल राहुलको ६६ रन, विरात कोहलीको ५४ रन र कप्तान रोहित शर्माको ४७ रनको मद्दतले २ सय ४० रन बनाएको थियो । अष्ट्रेलियाको लागि मिचेल स्टार्कले ३ तथा जोस हेजलवुड र प्याट कमिन्सले समान २-२ विकेट लिएका थिए ।

यो अष्ट्रेलियाको छैटौं विश्वकप उपाधि हो । सन् २००३ मा अष्ट्रेलियासँग फाइनल हारेको भारतले सन् २०२३ को १३ औं संस्करणमा समेत अष्ट्रेलियासँगै पराजित भएको छ ।

जारी विश्वकपमा शूरूवातदेखि लगातार १० खेलमा अपराजित भारतले अन्तिम फाइनलमा एक खेलमा पराजित हुँदा विश्वकप उपाधिबाट चुकेको हो ।

म्यान अफ द म्याचको उपाधि अष्ट्रेलियाका ट्राभिस हेडले पाए भने म्यान अफ द टुर्नामेन्टको उपाधि भारतका विराट कोहलीले पाए ।