काभ्रेको शीर मेमोरीयलमा क्यान्सर केयर सञ्चालनमा

बनेपा । काभ्रेको बनेपास्थित शीर मेमोरीयल एड्भेटिष्ट अस्पतालले SMAH क्यान्सर केयर सञ्चालनमा ल्याएको छ ।
क्यान्सर बिरामीहरुका उपचारको लागि थप सेवा प्रदान गर्ने उद्देश्यले नेपाल अबुर्द रोग निवारण संस्था काभ्रे शाखाको समर्थन र सहयोगमा अस्पतालले उक्त सेवा सञ्चालनमा ल्याएको हो ।
नेपालमा सिमित अस्पतालहरुले सो सम्बन्धि सेवा प्रदान गरिरहेको अवस्थामा अझै पनि सेवा अपुग भइरहेकोले काभ्रे लगायत आसपासका जिल्लाका क्यान्सरका बिरामीहरुका लागि साे सेवा उपलब्ध गराउने अस्पतालले जनाएकाे छ ।
अस्पतालमा आईतवार आयोजित एक कार्यक्रमवीच जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गाैतमले SMAH क्यान्सर केयरको उद्घाटन गरेका छन् । अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसकाे अध्यक्षतामा भएकाे उद्घाटन समारोहमा बाेल्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गाैतम, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकाेटा, बनेपा वडा नम्बर ५ का अध्यक्ष बलराम अधिकारी लगायतले अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
क्यान्सर केयर विभागका प्रमुख डा. पुर्ण खर्बुजाले हाल अस्पतालले क्यान्सरसंग सम्बन्धित अपरेसन र किमाे थेरापीका सेवा संचालन हुने बताएका छन् । उनले भविष्यमा रेडियाे थेरापी सेवा समेत संचालन गर्ने तयारीमा रहेकाे बताएका छन् ।
यस्तै, क्यान्सर केयर विभागका कोअर्डिनेटर डा. ध्रुव कडेलले क्यान्सरसंग सम्बन्धित क्यान्सरका बिरामीहरुकाे उपचारको लागि थप सेवा प्रदान गर्ने उद्देश्यले SMAH क्यान्सर केयर सञ्चालनमा ल्याएकाे बताएका छन् ।