काठमाडौं विश्वविद्यालयकाे ३२ औं स्थापना दिवस र २९ औं दीक्षान्त समारोह हुदैं
धुलिखेल । काठमाडौं विश्वविद्यालयले आफ्नो स्थापना दिवस तथा दीक्षान्त समारोहका कार्यक्रम आयोजना गर्ने भएको छ ।
विश्वविद्यालयले ३२ औं स्थापना दिवस भाेलि सोमवार र मङ्सिर २७ गते दीक्षान्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
स्थापनाको ३२ औं वर्षगाँठ मनाउँदै गरेको विश्वविद्यालयबाट २९ औं दीक्षान्त समारोहको पहिलो चरणको कार्यक्रम सम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४३ हजार १ सय २३ जना विद्यार्थी उत्तीर्ण भएकाे विश्वविद्यालयकी प्रवक्ता तथा सह प्राध्यापक एक्कुमाया पुनले बताएकी छिन् ।
स्थापना दिवस समारोहमा विशिष्ट तीन विद्वानहरूलाई अभिनन्दन गर्ने कार्यक्रम रहेकाे आईतवार विश्वविद्यालयले जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्ले छ । अभिनन्दित हुनेमा काठमाडौं विश्वविद्यालयको चिकित्साशास्त्र विभागका संस्थापक डीन डा. नरेन्द्र बहादुर राना, जर्मन कला साधक तथा काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टसको सङ्गीत विभागका संस्थापक विभागाध्यक्ष प्राध्यापक गर्ट माथियास वेग्नर र पूर्व सभामुख दमननाथ ढुङ्गाना रहेका छन् ।
काठमाडौँ विश्वविद्यालयको २९औं दीक्षान्त समारोह (पहिलो चरण) अन्तर्गत मङ्सिर २७ गते बुधबार काठमाडौँ विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा हुने भएको हाे ।
कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षता, शताब्दी पुरूष वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दासको प्रमुख आतिथ्य र माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति अशोक कुमार राई र माननीय शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको उपस्थिति रहने विश्वविद्यालयले जनाएकाे छ ।
दीक्षान्त समारोहमा काठमाडौँ विश्वविद्यालयबाट स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी, डिएम र एमसिएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३१४ जना, पिजिडी तहका ५२ जना, र स्नातक तहका १ हजार ४ सय १६ जना सहित जम्मा १ हजार ८ सय ३८ जना विद्यार्थी दीक्षित हुनेछन् । जसमध्ये आर्टस्का २०९ जना, एजुकेसनका २२५ जना, इन्जिनियरिङका ३९ जना, लका ३९ जना, मेनेजमेन्टका ४४८ जना, मेडिकल साइन्सेजका ७७७ जना र साइन्सका १०१ जना रहेका छन् ।
दीक्षित हुने विद्यार्थीहरुमध्ये ४६.०३ प्रतिशत (६ सय ४६ जना) पुरूष र ५३.९७ प्रतिशत (९ सय ९२ जना) महिला रहेका छन् । यस्तै, दीक्षित हुनेमध्ये ६.१५ प्रतिशत विदेशी विद्यार्थी रहेका छन् । भारत, श्रीलङ्का र माल्दिभ्सका गरी ३ देशका ११३ जना विदेशी विद्यार्थी रहनेछन् ।
काठमाडौँ विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ इन्जिनियरिङ अन्तर्गत Master of Technology in Artificial Intelligence मा १ जनालाई, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत Master of Science in Midwifery Nursing मा ८ जनालाई र स्कुल अफ एजुकेसन अन्तर्गत Master in Higher Education मा ९ जनालाई उपाधि प्रदान गरिनेछ ।
दीक्षान्त समारोहमा एमबिबिएस कार्यक्रम स्नातक तहमा सबभन्दा बढी अङ्ग प्राप्त गर्ने बिराट मेडिकल कलेज विराटनगरका सनम ढकाललाई भाइस चान्सलर स्वर्ण पदक, एमबिए तहमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने स्कुल अफ मेनेजमेन्टका विनायक घिमिरेलाई जुद्धबहादुर श्रेष्ठ स्वर्ण पद, एमबिए तहमा सर्वोत्कृष्ट विद्यार्थी स्कुल अफ मेनेजमेन्टका अंकित सुवेदीलाई रणबहादुर शाह स्वर्ण पदक, एमबिबिएस कार्यक्रम स्नातक तहमा सबभन्दा बढी अङ्ग प्राप्त गर्ने बिराट मेडिकल कलेज बिराटनगरका संस्कृति श्री ढकाललाई न्हुछेरत्न तुलाधर स्वर्ण पदक र स्नातक तह स्कुल अफ मेनेजमेन्टमा सबैभन्दा बढी सिजिपिए प्राप्त गर्ने सौगात वास्तोलालाई प्रेमराज पन्त स्वर्ण पदक वितरण गरिने विश्वविद्यालयले जनाएकाे छ ।