खानीखोला गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कुमारी माविलाई
खानीखोला । काभ्रेको विकट खानीखोला गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएकाे छ । प्रतियोगिताकाे
उपाधि कुमारी माध्यमिक विद्यालयले प्राप्त गरेकाे छ ।
प्रतियोगितामा कुमारी माविले १२ स्वर्ण, ९ रजत र २ कास्य गरी कुल २३ पदकसहित प्रतियोगिताकाे उपाधि प्राप्त गरेकाे हाे । कुमारी माविले लगातार दोस्रो पटक उपाधि प्राप्त गरेकाे हो । खानीखोला ७ स्थित महाँकालमा गत वर्ष दोस्रो रनिङ शिल्डमा ७ स्वर्ण, ८ रजत र २ कांस्य गरी १७ पदकसहित कुमारी माविले नै उपाधि प्राप्त गरेकाे थियाे । प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र २ कास्य गरी १६ पदक प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र २ कास्य गरी १६ पदक प्राप्त गर्दै जनविकास माध्यमिक विद्यालय द्वितीय र २ स्वर्ण, २ रजत र २ कांस्य पदक प्राप्त गर्दै बुद्ध माध्यमिक विद्यालय तृतीय र १ स्वर्ण, २ रजत र २ कांस्य पदक जित्दै शारदा माध्यमिक विद्यालयल चौथो भएकाे हाे ।
गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे समापन कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले शिक्षा क्षेत्रमा परिवर्तनको महसुस हुने गरी केही काम गर्ने संकल्पसहित आफू लागि परेको बताएका छन् । उनले खेलकुद क्षेत्रको विकासको लागि विद्यालयस्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई निरन्तर दिने बताए ।
यस्तै, गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले स्थानीयस्तरमा रहेका खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि राष्ट्रपति रनिङ शिल्ड आवश्यक रहेको भन्दै तेस्रो रनिङ शिल्ड प्रतियोगितासम्म आइपुग्दा यसको औचित्य पुष्टि भएको बताए ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएकाे थियाे भने द्वितीय र तृतीय हुने विद्यालयलाई क्रशमः नगद १० हजार र ५ हजार रुपैँया र सन्त्वान्न हुने विद्यालय र विद्यागत प्रथम र द्वितीय तथा उत्कृष्ट खेलाडीलाई मेडल, प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियाे ।
खानीखोला गाउँपालिकाको खेलकुद विकास समितिका संयोजक प्रेमप्रकाश लामाका अनुसार गाउँपालिकाभित्रका ८ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा छात्र भलिबल, छात्र र छात्रा दुवैको दौड, हाईजम, लङजम, त्रिपलजम्प, ज्यावलिङ, सटपुट, कराँते गरी ८ विधाका ५९ वटा पदकका लागि दुई सय बढी विद्यार्र्थी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।