काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघकाे वार्षिक साधारण सभा सम्पन्न

बनेपा । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघकाे वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार बनेपामा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघकाे २६ औं साधारण सभा बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका रजिष्ट्रार राधाकृष्ण खतिवडाको प्रमुख आतिथ्यतामा भएकाे हाे । साधारणसभामा बोल्दै प्रमुख अतिथि खतिवडाले सहकारी क्षेत्रमा देखिएको समस्यालाई सुद्धिकरण गर्ने समय आएको बताएका छन् । उनले गलत गर्नेलाई कारवाही गरेर अभियानलाई निरन्तरता दिनुको विकल्प नभएको समेत बताएका छन् ।

जिल्ला बचत संघ काभ्रेका अध्यक्ष उदयराम कायस्थको अध्यक्षतामा भएको वार्षिक साधारण सभामा अधिकतम शेयर खरिद गर्ने उग्रचण्डी साकाेस र बेथानचोक नारी चेतना साकोस, अधिकतम बतत कारोबार गर्ने अटल साकाेस र नारी चेतना साकोस, अधिकतम ऋण कारोवार गर्ने बनेपा साकाेस र शैलुङ्गेश्वरी साकाेसलाई सम्मान गरिएको छ । यस्तै, मनकामना बचत तथा ऋण सहकारी संस्था लिका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाल र आयाम बचत तथा ऋण सहकारी संस्था लिकी प्रमुख कार्यकारी अधिकृत सविना पन्तलाई उत्कृष्ट व्यवस्थापन प्रमुखद्वारा सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष उदयराम कायस्थले सहकारी संस्थाको विकास, प्रबर्द्धन र सम्बर्द्धन गरी सहकारीको मुल्य, मान्यता, सिद्धान्तलाई आत्मसाथ गर्दै समृद्ध संस्था निर्माणका लागि संघ क्रियाशिल रहेको बताएका छन् ।