खानीखोला गाउँपालिकाकाे समीक्षा तथा सार्वजनिक कार्यक्रम सम्पन्न

तालढुंगा । जिल्लाकाे विकट खानीखोला गाउँपालिकाले प्रथम त्रैमासिक समीक्षा तथा सार्वजनिक सराेकार बिषयक अन्तरक्रिया कार्यक्रम गरेकाे छ ।

जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा खानीखोला गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक समीक्षा तथा सार्वजनिक सराेकार बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम गरेकाे हाे । मंगलवार गाउँपालिकाकाे कार्यलयमा भएकाे कार्यक्रममा चालु आर्थिक वर्षको ३ महिनाको अवधीमा भएका आर्थिक, भौतिक प्रगतिको समिक्षा गरिएको हो ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले कार्यक्रममा पालिकाकाे समग्र प्रस्तुतीकरण गरेका थिए । उनले भौगोलिक, भौतिक, आर्थिक विकासको काेणले पालिका पछि परेको भन्दै विविध समस्याहरूकाे सामना गर्दै अघि बढिरहेको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बाग्मती प्रदेश सभाका पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्र संसदीय दलका सचेतक रत्नप्रसाद ढकालले बाग्मती प्रदेशको सघन सहरी बिकास कार्यक्रम खानीखोलामा लागू भएको बताउँदै अन्य विभिन्न बहुवर्षिय आयोजनाहरूले समग्र डाडापारी क्षेत्रकै विकास हुने बताएका छन् ।

कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समिति काभेका प्रमुख दिपक कुमार गौतमले खानिखोलाको विकासको लागिखानीखोला-तालढुङ्गा सडक बन्नुपर्ने बताए । यस्तै, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जनताको अधिकतम हित र सुबिधालाई ध्यान दिएर सेवा प्रवाह गर्नुपर्ने बताईन् ।

कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधी, वडा अध्यक्षहरू, कर्मचारी लगायत स्थानीयहरूकाे सहभागीता रहेकाे थियाे ।