महाभारत गाउँपालिकाकाे प्रथम त्रैमासिक अवधीको समिक्षा सम्पन्न

देविटार । महाभारत गाउँपालिकाले प्रथम त्रैमासिक समीक्षा तथा सार्वजनिक सराेकार बिषयक अन्तरक्रिया कार्यक्रम गरेकाे छ ।

जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा खानीखोला गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक समीक्षा तथा सार्वजनिक सराेकार बिषयक अन्तरक्रिया कार्यक्रम गरेकाे हाे ।

बुधवार गाउँपालिकाकाे कार्यलयमा भएकाे कार्यक्रममा चालु आर्थिक वर्षको ३ महिनाको अवधीमा भएका आर्थिक, भौतिक प्रगतिको समिक्षा गरिएको हो । महाभारत गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरि सि विष्टले प्रस्तुती गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बाग्मती प्रदेश सभाका पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्र संसदीय दलका सचेतक रत्नप्रसाद ढकालले भौगोलिक रुपमा दुर्गम भएको कारणले बाग्मती प्रदेश सरकारले बिशेष अनुदान उपलब्ध गराएको बताउँदै बहुवर्षिय आयोजनाको रुपमा अघि बढेको बिपि राजमार्ग बाट महाभारत हुँदै प्रदेश राजधानी हेटौंडा जोड्ने ‘जनमुक्ति मार्ग’ सो क्षेत्रकै विकास हुने बताएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले महाभारत बिस्तारै सुगमता तर्फ अगाडी बढेको भन्दै ३६५ दिन नै गाडी चल्ने सडक बनाइनुपर्ने तर्क गरेका छन् । कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल र स्थानीय सबैको सहयोगले महाभारत गाउँपालिका धेरै मूल्याकंनमा प्रथम हुन सफल भएको बताए ।

यस्तै, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भुगोल समस्या नभएको र त्यसलाई अवसरको रुपमा विकास गर्नु पर्ने बताईन् ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले नागरिकता र सार्वजनिक सेवा प्रबाहका बारेमा समेत महाभारतका जनप्रतिनिधि, कर्मचारी र स्थानीयसंग अन्तरकृया गरिएकाे थियो ।  कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधी, वडा अध्यक्षहरू, कर्मचारी लगायत स्थानीयहरूकाे सहभागीता रहेकाे थियाे ।