कर्मचारी ठूला आयोजनामा हात हाल्नै चाहदैनन् : मुख्यमन्त्री जम्कट्टेल
धुलिखेल । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले निजामति कर्मचारीले ठूला आयोजनामा हात हाल्नै नचाहने बताएका छन् ।
शुक्रवार काभ्रेको धुलिखेलमा नेपाल राष्ट्रिय कर्मचारी संगठन बागमती प्रदेश समितिको संगठन सुदृढीकरण तथा सार्वजनिक सेवा प्रवाहमा कर्मचारी ट्रेड युनियनको भुमिका विषयक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनले कर्मचारीले ठूला आयोजनामा हात हाल्नै नचाहने र झमेला छ भनेर पन्छिने गरेकाे बताएका छन्।
उनले कर्माचारीले जोखिम मोल्नै नचाहेको तर्क गर्दै टुक्रे योजनाको प्रचलन पनि कर्मचारीले नै चलाएको बताए । उनले कर्मचारीलाई विश्वासमा नलिएसम्म काम नहुने भन्दै कर्मचारी र राजनैतिक दलवीचकाे विश्वासको खाडल नमेटेसम्म देश विकास नहुने बताए ।
कार्यक्रममई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले अस्थायी, ज्यालादारी, करारका कर्मचारीलाई सामाजिक सुरक्षामा लैजान खोज्दा नमानिएको भन्दै उनले माघ १५ गतेभित्र प्रदेश निजामति कर्मचारी नियमावली ल्याउने तयारी गरेको बताए । साथै, उनले नयाँ सोच र जाँगर कर्मचारीमा हुनुपर्ने तर्क राख्दै कर्माचरीले सरकारलाई सघाउनु पर्ने र त्यसबाट भाग्न नहुने समेत बताएका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीले पार्टीको नीति, विचार र संगठनबारे आफ्नो तर्क राख्दै कर्मचारीतन्त्रमा केही सीमित कर्मचारीको हालीमुहाली रहेको र तिनै कर्मचारीले बहुसंख्यक कर्मचारीमाथि अन्याय गरिरहेको बताएका छन् ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष शेरबहादुर कार्की, केन्द्रीय सचिव हरिलाल वि.क., पुर्व केन्द्रीय अध्यक्ष हरिबहादुर रावल लगायतले पेशागत हकहित र ट्रेड युनियन अधिकारको पक्षमा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।
बिहिवार र शुक्रवार दुई दिनसम्म चलेकाे कार्यक्रममा संघीय सांसद सुर्यमान दोङ, बागमती प्रदेश सभा सदस्य रत्न ढकाल, संगठनको केन्द्रीय अध्यक्ष अम्बदत्त भट्ट लगायतको उपस्थिती रहेको थियाे । कार्यक्रम संगठनका बागमती प्रदेश अध्यक्ष श्रवण ढुंगानाको अध्यक्षतामा भएकाे थियाे